सूचनाको शक्ति - The Power Of Information

        

तत्काल नाला सफाइदेखि अन्जनी मातालाई थप रकम दिने नेपालगन्जको निर्णय

नेपालगन्ज उप–महानगरपालिका भित्र सडकसँगै ढल तथा पानी निकासको लागि नाला निर्माण गरिएका छन् । तर नगरका धेरै जसो सडक छेउमा रहेको नालाहरु बन्द भएका छन् ।

नेपालगन्जले वर्षामा पानीको निकास सहज बनाउन ती नालाहरुलाई तत्काल सरसफाइ गर्ने निर्णय गरेको छ ।

नेपालगन्ज उप–महानगरपालिकाका नवनिर्वाचित प्रमुख प्रशान्त विष्ट, कमरुद्दीन राईलगायतले सपथ लिएकै दिन आइतबार विभिन्न आठ निर्णयसँगै तत्काल नगर भित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाई कार्यलाई तत्कालै कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

त्यस्तै नगरले भेरी अस्पतालको प्रांगणमा रहेको अन्जनी माता रसोई घरलाई थप रकम दिने महत्वपूर्ण निर्णय पनि गरेको छ । भेरीमा आउने बिरामी र कुरुवाको खाना व्यवस्थापन गर्दै आएको अन्जनी माता रसोईलाई नेपालगन्ज उप–महानगरपालिकाले मासिक ५० हजार रुपैयाँ दिँदै आएको थियो । जसलाई नयाँ जनप्रतिनिधिले थप ५० हजार थपेर एक लाख रुपैयाँ बनाएका हुन् ।

त्यसैगरी नगर कार्यालयको कार्यालयमा असक्त, जेष्ठ नागरिक र अपांगता भएका सेवाग्राहीलाई सेवा दिन अपांगमैत्री कार्यालय बनाउने, त्रैमासिक रुपमा वितरण गरिँदै आएको सामाजिक सुरक्षा भत्ता आगामी दिनमा सम्बन्धित बैंकहरुसँग सहकार्य गरेर वडा कार्यलयहरुको समन्वयमा घुम्ती बैकिंग सेवा संचालन, सामुदायिक विद्यालय अन्तर्गत प्रावि तहमा स्थानीय भाषामा पठनपाठनको सुरुवात गर्न स्थानीय भाषामा पाठ्यक्रम निर्माण गर्नेलगायतका निर्णयहरु भएका छन् ।

.

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतवार १६:०५