सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौका धेरैजसो सरकारी अस्पताल आइतवार खुल्ने : वीर अस्पताल नखुल्ने

दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन भएपछि स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ ।

शनिवार र आइतवार लगातार दुई दिन बिदा हुँदा बिरामी मारमा पर्ने भएका छन् । वीर अस्पतालले सरकारको दुई दिन बिदा दिने निर्णयलाई कार्यान्वयन गरी आइतवार सेवा बन्द गर्ने गरेको छ।

वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले सरकारले गरेको निर्णय अनुसार नै अस्पतालमा बिदा हुने बताउनुभयो । उहाँका अनुसार वीर अस्पतालको आकस्मिक सेवा २४ घण्टा सञ्चालनमा छ । तर काठमाण्डौ उपत्यकाका अरु ठूला अस्पताल आइतवार सञ्चालनमा आउने भएका छन् ।

शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आइतवार पनि निरन्तर सेवा उपलब्ध हुनेछ ।

यसअघि जेठ १ गते आइतवारका दिनसमेत ती अस्पताल खुलेका थिए । गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बिरामीको उपचारलाई सहज हुने गरी आइतवार अस्पताल खुल्ने बताउनुभयो ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. मनिषा थापाले सार्वजनिक बिदाका दिन आइतवार पनि बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा नियमित सञ्चालन हुने बताउनुभयो ।

शिक्षण अस्पतालमा दैनिक झन्डै २ हजार ५ सय बिरामी उपचारका लागि पुग्छन् । आइतवार पनि नियमित सेवा दिने अस्पतालले जनाएको छ । सरकारले गएको जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिने निर्णय गरेको थियो ।

यसैबीच काठमाण्डौ महानगरपालिकाले आज सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गर्नेभएको छ ।

कामपाको राजश्व विभाग र वडा कार्यालय आइतवार तीन घण्टा खुल्ने कामपाको विभागीय प्रमुख महेश काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतवार ०८:०४