सूचनाको शक्ति - The Power Of Information

        

अहिलेसम्म ३२ हजार १५२ जनप्रतिनिधि निर्वाचित : कहाँ कसले जिते (सूचीसहित)

पालिका चुनाव–२०७९ अन्तर्गत ६९५ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २४८ नगरपालिका र ४४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो । यो सँगै झन्डै ९२ प्रतिशत पालिकाको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म ३२ हजार १५२ जनप्रतिनिधि निर्वाचित भएका छन् । ७५३ वटा पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि छान्न गएको वैशाख ३० गते चुनाव भएको थियो। मतगणना भएका नगरपालिकामध्ये मेयर पदमा नेपाली कांग्रेसले १२३ वटामा जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा १८४ वटामा जितेको छ । नगरपालिकामा १४ र गाउँपालिकामा ४ वटामा कांग्रेसको अग्रता छ ।

त्यस्तै, नेकपा एमालेले ६७ नगरपालिका र १२१ गाउँपालिका जितेको छ । एमाले १४ वटा नगरपालिकामा र २ वटा गाउँपालिकामा अगाडि छ । नेकपा (माओवादी केन्द्र) ले २४ नगरपालिका र ९६ वटा गाउँपालिकामा प्रमुख पद जितेको छ । तीन वटा नगरपालिकामा माओवादीको अग्रता छ ।

नेकपा (एकीकृत समाजवादी) ले ९ नगरपालिकामा मेयर जितेको छ । २ वटामा उसको अग्रता छ । स्वतन्त्रसहित अरु दलले २५ ठाउँमा मेयर पद जितेका छन् । उपमेयरमा नेपाली कांग्रेसले ९४ र उपाध्यक्षमा १८७, एमालेले ९१ उपमेयर र १२२ उपाध्यक्ष, माओवादी केन्द्रले ३२ उपमेयर र ९३ वटामा उपाध्यक्ष जितेको छ ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले उपमेयरमा ११ र स्वतन्त्रसहित अन्य दलले २० ठाउँमा जितेका छन् । उपाध्यक्षमा जनता समाजवादी पार्टीले १८ र स्वतन्त्रसहित अन्यले २७ ठाउँमा जितेका निर्वाचन आयोगको विवरण छ । पालिकाको वडाध्यक्ष पदमा नेपाली कांग्रेसले २ हजार ५२६ वटामा जित हासिल गरेको छ ।

नेकपा (एमाले) ले २ हजार ३३ वटामा जितेको छ । माओवादी केन्द्रले वडाध्यक्ष पदमा १ हजार २७ वटामा जितेको छ । जनता समाजवादी पार्टीले २६७ वटामा वडाअध्यक्ष जितेको छ । स्वतन्त्रसहित अन्य ५५५ वटामा वडाअध्यक्ष विजयी भएका छन् ।

कहाँ कसले जिते थाहा पाउन यहाँ क्लिक गर्नुहाेस् ।

प्रकाशित मिति : ८ जेष्ठ २०७९, आइतवार ०७:३६