सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि बिदा भए एक लाख म्यादी प्रहरी

आज देशभरका म्यादी प्रहरी बिदा भएका छन् । शुक्रबारदेखि नै उनीहरुलाई बिदा गर्न थालिएको छ । शनिबार सबैजना बिदा भइसक्ने प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

स्थानीय तहको निर्वाचनका लागि एक लाख जना म्यादी भर्ना गरिएको थियो । ४० दिनका लागि भर्ना भएका म्यादी अवधि सकिएसँगै बिदा भएका हुन् । निर्वाचनमा सबैभन्दा बढी म्यादी खटाइएको थियो ।

चैत २८ गते देशभरका जिल्ला प्रहरी कार्यालयमा म्यादी भर्ना गरिएको थियो । ४० दिन पूरा भएसँगै उनीहरुको म्याद सकिएको हो । केही स्थानमा मतदान र केही स्थानको मतगणना बाँकी रहे पनि अब अन्य सुरक्षाकर्मी मात्रै खटाइने छ ।

म्यादी प्रहरी घर फर्किएका छन् भने नेपाली सेना पनि ब्यारेक फर्किएको छ । ४० दिन काम गर्दा म्यादी प्रहरीले जवानसरह सेवा सुविधा पाएका थिए । यसबीचमा ५ जना म्यादी प्रहरीको मृत्यु भएको छ । करिव ५० जना घाइते भएको प्रहरी प्रवक्ता केसीले बताए ।

ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक एक जना म्यादी प्रहरीको मृत्यु भएको हो । सिन्धुपाल्चोककै एक म्यादी प्रहरीले भने विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । चुनावमा खटिने क्रममा ज्यान गुमाउने म्यादी प्रहरीका परिवारलाई पनि २० लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १६:३९