सूचनाको शक्ति - The Power Of Information

        

तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीचको मतान्तर फराकिलो बन्दै गइरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार शनिवार मध्यान्हसम्म गणना भएको २८ हजार ६५७ सदर मतमध्ये नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्काले गठबन्धनका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको अग्रतालाई तोड्दै पछि पारेका छन् ।

खड्काले ११ हजार ९१८ प्राप्त गर्दा गठबन्धन तर्फका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ६१० मत प्राप्त गरेका छन् । खड्काले पछिल्लो मत परिणाम अनुसार गिरीलाई ३०८ मतले पछि पारेका छन् ।

मेयर पदमा मात्रै तुलसीपुरमा ३ हजार ८९० मत बदर भएको छ । त्यस्तै उपमेयर पदमा सुरुदेखि नै अग्रता कायम राख्दै अघि बढिरहेकी नेकपा एमालेकी स्यानी चौधरीले हालसम्म आफ्नो अग्रता कायम मतान्तर बढाउदै लगिरहेकी छिन् ।

चौधरीले ११ हजार १७४ मत प्राप्त गर्दा गठबन्धन तर्फका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ८९७ मत प्राप्त गरेका छन् । चौधरीभन्दा राना २ हजार २७७ मतले पछि रहेका छन् । उपमेयर पदमा पनि ५ हजार ७८२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले दाङले जनाएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार १५:३७