सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा कांग्रेस विजयी

बाँकेको जानकी र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । २०७४ मा एमालेले जितेको जानकी र बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको हो ।

बैजनाथमा कांगेसका तर्फबाट अध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय विजयी भएका छन् । अध्यक्षमा शाहीले १२१८० मत प्राप्त गरेका छन् । उनी १७९८ मतान्तरले विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट अध्यक्षका उम्मेदवार घननाथ खनालले १०३८२ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्षका उम्मेदवार दिपेन्द्रबहादुर शाहले ५२१४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै निर्मला रोकाय १४१९ मतान्तरले विजयी भएकी छन् । उनले १२,१५२ मत ल्याएकी छन् भने निकटतम् प्रतिद्वन्दी एमालेकी उम्मेदवार प्रेमपूर्ण योगीले १०,७३३ मत ल्याएकी छन् । नेकपा एकीकृत समाजवादीका टंकरनाथ योगीले ४०१० मत प्राप्त गरेका छन् ।

यस्तै जानकी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षका उम्मेदवार छब्बन खाँ र उपाध्यक्षका उम्मेदवार रामप्यारी यादव निर्वाचित भएका छन् । अध्यक्ष खाँले ६६५३ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हिमांशु यादवले ४७९५ मत ल्याए भने समाजवादी पार्टी (जसपा)का राजिबकुमार बर्माले २९३८ मत पाएका छन् । यस्तै उपाध्यक्षमा निर्वाचित यादवले ६९०९ मत ल्याएकी छन् भने उनकी निकटतम् प्रतिद्वन्दी एमालेकी भूमिसरा धितालले ३४५६ मत ल्याएकी छन् ।

तेस्रो भएका नेकपा माओवादी केन्द्रका रक्षाराम कुर्मीले २२२९ मत पाए । २०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित अधिकांश वडामा नेकपा एमालेले जितेको जानकी गाउँपालिकामा कांग्रेसका ३ जना, जसपाका २ र माओवादी केन्द्रका १ जना वडाध्यक्ष निर्वाचित भएका छन् ।

यहाँ जसपाबाट वडा नं.१ मा मोहम्मद रजा राई, वडा नं.३ मा राजकुमार कुर्मी, माओवादी केन्द्रबाट वडा नं.२ मा चन्द्रीकाप्रसाद गुप्ता तथा कांग्रेसबाट वडा नं.४ मा रमेशकुमार वर्मा, वडा नं.५ मा टिकानाथ यादव र वडा नं.६ मा जगदिशप्रसाद हरिजन निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार १५:१७