मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पराजित भएकी छन् । पर्साको जगरनाथपुर गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टीबाट चुनाव लडेकी खातुन तेश्रो नम्बर मत ल्याएर पराजित भएकी हुन् ।
त्यस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर गाउँपालिका उपाध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा कांग्रेसकी बबिता सिहंले ५५३१ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मिरा देवी कुर्मी ३३४५ मत ल्याएकी छन् । तेस्रो नम्बरमा मुख्यमन्त्रीकी पत्नी जलेखा खातुन ३१२३ मत ल्याए सिमित भइन् ।
मुख्यमन्त्री राउत आफ्नी पत्नी जलेखलाई उम्मेदवार बनाएपछि निवर्तमान गाउँपालिका उपाध्यक्ष बिस्मिल्लाह खातुन पार्टी परित्याग गरेकी थिइन् । मुख्यमन्त्री राउतका दुईजना स्वकीय सचिव पनि स्थानीय तह निर्वाचनमा पराजित भएका छन् ।
पूर्व प्रमुख स्वकीय सचिव दीपक यादव र स्वकीय सचिव पशुपति यादव पालिका प्रमुखमा पराजित भएका हुन् । पर्साको पटेर्वा सुगौली गाउँपालिका अध्यक्षमा उठेका दीपकले जमानत समेत बचाउन सकेनन् । उक्त पालिकामा नेपाली कांग्रेसका दिनेश कुमार चौधरी ५ हजार १४४ मत ल्याएर निर्वाचित हुँदा चौथो नम्बरमा दीपकले मात्र ४६९ मत ल्यान सके ।
त्यस्तै धनुषाको कमला नगरपालिकाको मेयरमा उठेका पशुपति कांग्रेस उम्मेदवार विशेश्वर प्रसाद यादवबाट एकहजार भन्दा बढी मतले पराजित भए । विशेश्वर ३८८७ मत ल्याएर विजयी हुँदा दोश्रो नम्बरमा पशुपति २८५९ मतमा सीमित भएर पराजय बेहोरेका छन् ।
सत्यपाटी । जनकपुरधाम ।