सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

नेपालगन्जमा ढल्यो राप्रपाको सत्ता, काँग्रेसका बिष्ट र जसपाका राई निर्वाचित

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रशान्त विष्ट विजयी भएका छन् । यहाँ नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच गठबन्धन रहेको थियो ।

सो गठबन्धनका साझा उम्मेदवार विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपतिदयाल मिश्रलाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन् । विष्टले २३ हजार ४६० मत ल्याउँदा मिश्रले ११ हजार ६७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७८५ मतान्तर रहेको छ ।

२०७४ मा प्रमुख जितेको राप्रपाका नन्दलाल वैश्यले ७ हजार ५९८ मत ल्याएर तेस्रो भएका छन् । यस्तै उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट जसपाका कमरुद्दिन राई निर्वाचित भएका छन् । उपप्रमुखमा राईले १७ हजार ९५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत प्राप्त गरिन् ।

राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १३५ मत ल्याएकी छिन् । यसअघि नेपालगन्जमा राप्रपाले मेयर र काँग्रेसले उपमेयर जितेको थियो । नेपालगन्जको मेयरमा डा.धवलशमशेर राणा थिए । उनी आबद्ध पार्टी राप्रपा यसपटक तेस्रो बनेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०९:०६