नेकपा एमाले उमेदवारले भरतपुर महानगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा एमालेले राम्रो अग्रता बनाउने दाबी गरेपनि दाबी अनुसारको मत भने पाएको छैन । यी वडाबाट एमालेले राम्रो मतको अपेक्षा गरेको थियो भने रेनु दाहालको बढ्दो अग्रतामा ब्रेक लाग्ने सोचेको थियो । तर, नजिता भने रेनुकै पक्षमा देखिएपछि एमाले वृत्तमा चिन्ता बढ्दै गएको देखिन्छ ।
अहिलेसम्म ५४ हजार ४२ मतगणना हुँदा रेनुले २० हजार ४९२ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ७ हजार ८८२ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ९५२ र राप्रपाकी हिमला गुरुङले १३ हजार ६४६ मत प्राप्त गरेका छन् ।
कांग्रेसका बागी पौडेलले मत काट्ने र त्यसको फाइदा आफूलाई हुने एमाले विश्लेषण थियो । तर, परिणाम एमालेका लागि सुखद देखिएको छैन । पछिल्लो २४ घण्टादेखि रेनु लगातार ३ हजार मतान्तरले अगाडि देखिएकी छन् । अहिले वडा नम्बर ११ र १२ को मतगणना भइरहेको छ । दुवै वडाको अध्यक्षमा एमालेले अग्रता लिइरहेको छ । तर, मेयरको मतान्तर भने घटेको छैन ।
वडा नम्बर ११ मा हालसम्म भएको गणनामा एमाले उमेदवारले २ हजार ४९७ र माओवादी केन्द्रका उमेदवारले १ हजार ९३१ मत पाएका छन् भने वडा नम्बर १२ मा एमाले उमेदवारले ९५५ मत पाउँदा नेकपा एसका उमेदवारले ७९९ मत प्राप्त गरेका छन् । मतगणनामा रहेको दलका प्रतिनिधीहरुका अनुसार मेयरमा रेनु दाहाललाई मत आइरहेको छ भने अरु सबै मत एमालेको प्यानलमा खसेको छ ।
यसले एमाले समर्थक मतदाताले रेनुलाई मत हालेको देखिन्छ । आफ्नो बलियो भनिएको वडामै एमालेले अपेक्षाकृत मत नपाएपछि मेयरको दौडमा एमालेलाई थप चुनौती थपिएको छ । अन्य वडामा एमालेको पक्षमा नतिजा नआए मेयरको दौड कठिन बन्ने एमालेकै स्थानीय नेता–कार्यकर्ताहरु बताउँछन् । भरतपुरमा एमालेभित्रै अन्तर्घातको चर्चा पनि छ ।
५३,३४६ मतगणना हुँदा ३,३०७ मतसहित रेनुको अग्रता कायमै
भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मतको गणना भएको छ । जारी गणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन् । रेनुले २० हजार २२४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १६ हजार ९१७ मत पाएका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरेका छन् ।
रेनु उनलाई पछ्याइरहेका विजयभन्दा ३ हजार ३०७ मत अघि छिन् । उपमेयरमा कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले २२ हजार ६९६ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले १३ हजार ४६९ मत प्राप्त गरेकी छन् । अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।
सत्यपाटी । चितवन ।