सूचनाको शक्ति - The Power Of Information

        

मतगणना नसकिँदै नेपालगन्जमा नगर प्रमुख र उपप्रमुखको स्पष्ट जित !

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामध्ये २१ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइरहँदा मेयरमा प्रशान्त विष्ट र उपमेयरमा कमरुद्दिन राई स्पष्ट जीतको हकदार बनेका छन् ।

दुई वटा वडाको अन्तिम मतपरिणाम नआउँदै विष्ट र राईको अग्रता फराकिलो रहेकाले उनीहरुले जितिसकेको अवस्था छ । वडा नम्बर १३ र १४ को मतगणना पनि अन्तिम चरणमा पुगिसकेको छ ।

हालसम्म गणना भएका २१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले २१६७८ मत ल्याएर जित सुनिश्चित गरिसकेका छन् । उनी नेकपा एमालेका पशुपतिदयाल मिश्रभन्दा १०६८६ मतले अघि छन् ।

जबकि वडा नम्बर १३ र १४ को खसेको मत ३६ सयको हाराहारीमा छ । त्यसकारण विष्टको जित भइसकेको छ । मेयरमा तेस्रो स्थानमा रहँदै राप्रपाका नन्दलाल बैश्यले ७१४५ मत पाएका छन् ।

उपमेयरमा पनि जनता समाजवादी पार्टी (जसपा) नेपालका राईको पनि जित सुनिश्चित भइसकेकोे छ । उनले १६११८ मत पाएका छन् । जबकि एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत ल्याएकी छन् । उनीहरुको मतान्तर ५७०४ छ । तेस्रोमा रहेकी राप्रपाकी विन्दु चर्ती मगरले ९६४८ मत पाएकी छिन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०७:४८