सूचनाको शक्ति - The Power Of Information

        

८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसक्यो : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको जनाएको छ ।

आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताउनुभयो ।

उहाँले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको जानकारी दिनुभयो ।

जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३ जना उम्मेदवार निर्वाचित भइसकेका छन् ।

यस्तै, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको शर्माले जानकारी दिनुभयो ।

बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता पौडेलले पुनः मतदान भएका मतदान केन्द्रको हकमा मत पेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने बताउनुभयो ।

आयोगले निर्वाचनको क्रममा मतदान स्थलमा कानून विपरीत गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १८:३४