रोल्पास्थित जिल्ला कारागारमा एक कैदीले आत्महत्या गरेका छन् । बुधबार साँझ कारागारमा नेपाली सेना र नेपाल प्रहरीको दैनिक गरिने संयुक्त चेकजाँच तथा गन्तीको क्रममा एक जना कैदीको गन्ती कम भएपछि सुरक्षा निकाय सकृय भएको थियो ।
खोजतलास गर्दा कारागारभित्रको शौचालयको ढोका बन्द रहेको अवस्थामा उक्त ढोका खोली हेर्दा सुर्खेत वराहताल गाउँपालिका १ घोडाआँखेका २७ वर्षीय विजयबिक्रम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।
रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेको कमाण्डमा ५ जना र बटुक दल गण लिवाङ व्यारेकबाट नेपाली सेनाका प्रमुख सेनानी मणिराम थापासहितको टोली खटि गई घटनाको बारेमा बुझेर कानुनी प्रकृया पुरा गरि लाश पोष्टमार्टमको जिल्ला अस्पताल रेउघा रोल्पा पठाइएको छ ।
प्रहरीका अनुसार अनुसन्धान कार्य भइरहेको छ । अपराधिक लाभ केसमा थुनामा रहेका उनी २०७७ मंसीर ०८ मा नेपालगन्ज कारागारबाट सरुवा भएर रोल्पा ल्याइएका थिए । जेलर बिशाल खनालका अनुसार जरिवाना बुझाएको खण्डमा उनी २०७९ फागुनमा २३ गते छुट्ने थिए ।
सत्यपाटी । रोल्पा ।