सूचनाको शक्ति - The Power Of Information

        

बझाङका १२ वटै स्थानीय तहमा सकियो मतगणना, कांग्रेस पहिलो

बझाङका १२ वटै स्थानीय तहको मतगणना सकिएसँगै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामा नेपाली कांग्रेसले ६, नेकपा एमाले ३, नेकपा माओवादी केन्द्रले २ र नेकपा एकीकृत समाजवादीले १ स्थानीय तहमा जित हासिल गरेका छन् ।

नेपाली काँग्रेसले वित्थडचिर, सुर्मा, मष्टा, खप्तडछान्ना गाउँपालिका, बुङ्गल र जयपृथ्वी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ । नेकपा एमालेले साइपाल, तल्कोट र थलारा गाउँपालिकामा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले दुर्गाथली र छविसपाथीभेरा गाउँपालिकाको प्रमुखमा जित हात पारेको छ भने केदारस्युँ गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ ।

यस्तै पालिकाको उपप्रमुख पदमा भने नेपाली कांग्रेसले ५, एमालेले २, माओवादी केन्द्रले ३ र समाजवादीले २ स्थानीय तहमा जित हात पारेको छ । नेपाली कांग्रेसले सुर्मा, दुर्गाथली, केदारस्युँ, थलारा र वित्थडचिर गाउँपालिका, नेकपा एमालेले तल्कोट र साइपाल गाउँपालिका, नेकपा माओवादी केन्द्रले खप्तडछान्ना, मष्टा गाउँपालिकामा र जयपृथ्वी नगरपालिकामा उपप्रमुख पदमा विजयी भएको छ ।

जिल्लाका ९४ वडामध्ये नेपाली काँग्रेसले ३१ नेकपा एमालेले २७ नेकपा माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले १६ वडामा वडाध्यक्ष जितेको छ । जिल्लाभर ८ जना स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जित हासिल गरेका छन् । बझाङको केदारस्यु गाउँपालिकामा विजयी भएसँगै सुदूरपश्चिम प्रदेश सभाको ठूलो दल एकीकृत समाजवादी आफ्नो शाख जोगाएको छ । स्थानीय तह निर्वाचनका लागि समाजवादीले प्रदेशभर प्रमुख÷अध्यक्षमा ४१ र उपप्रमुख÷उपाध्यक्षमा ३५ उम्मेदवार उठाएको थियो ।

प्रदेश सभामा ठूलो दल भए पनि स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा निकै कमजोर देखिएको छ । प्रदेशका अन्य जिल्लामा प्रमुख उपप्रमुख पदमा निर्वाचित हुन नसकेको समाजवादीले बझाङमा भने एउटा प्रमुख र दुई उपप्रमुखमा जित हासिल गरेको छ । नयाँ पार्टी भएको र निर्वाचनका बेला गठबन्धनको भरमा निर्वाचनमा होमिनु र समय अभावका कारण चुनाव चिन्हलाई जनतामाझ लग्न नसकेकाले निर्वाचनमा राम्रो परिणाम आउन नसकेको समाजवादीका नेताहरु बताउँछन् ।

नेपाली कांग्रेस विजयी भएका पालिकाहरू 

१) जयपृथ्वी नगरपालिका – प्रमुखमा नेपाली कांग्रेसका चेतराज बजाल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रतन सिंह
२) बुंगल नगरपालिका – प्रमुखमा नेपाली कांग्रेसका जयबहादुर धामी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बोहरा
३) मष्टा गाउँपालिका – अध्यक्षमा नेपाली कांग्रेसका ज्ञानबहादुर बोहरा र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका हर्क धामी
४) खप्तडछान्ना गाउँपालिका – अध्यक्षमा नेपाली कांग्रेसका उत्तम रोकाया र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका विष्णु थापा
५) बित्थडचिर गाउँपालिका – अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस अम्मरसिंह महर र लक्ष्मी मल्ल
६) सुर्मा गाउँपालिका – नेपाली कांग्रेस खडक बहादुर बोहरा, नेपाली कांग्रेसकी रमला कुमारी मण्डेल पुजारा

नेकपा एमाले विजयी भएका पालिकाहरू

१) साइपाल गाउँपालिका – अध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहोरा र उपाध्यक्षमा नेकपा एमालेकै डोल्मा तामाङ
२) थलारा गाउँपालिका – अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया र उपाध्यक्षमा नेपाली कांग्रेसका राम खाती
३) तलकोट गाउँपालिका – अध्यक्ष उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका कलकबहादुर रोकाया र पार्वती भण्डारी

नेकपा माओवादी केन्द्र बिजयी भएका पालिकाहरु

१) दुर्गाथली गाउँपालिका – अध्यक्षमा नेकपा माओवादी केन्द्रका दिलबहादुर थापा र उपाध्यक्षमा नेपाली कांग्रेसका जनक दौल्याल
२) छबिसपाथिभेरा गाउँपालिका – अध्यक्षमा नेकपा माओवादी केन्द्र बसन्त चलाउने र उपाध्यक्षमा एकीकृत समाजवादीका लक्ष्मण बोहरा

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिकाहरु

१) केदारस्युँ गाउँपालिका – अध्यक्ष नेकपा एकीकृत समाजवादीका गणेश बोहरा र उपाध्यक्ष नेपाली काँग्रेसकी मनिषा धामी

९४ वडामध्ये वडागत विवरण

नेपाली काँग्रेस ३१
नेकपा एमाले २७
नेकपा माओवादी केन्द्र ११
नेकपा एकीकृत समाजवादी १६
स्वतन्त्र ८

पालिका प्रमुख

नेपाली काँग्रेस ६
नेकपा एमाले ३
नेकपा माओवादी केन्द्र २
नेकपा एकीकृत समाजवादी १

पालिका उपप्रमुख

नेपाली काँग्रेस ५
नेकपा एमाले २
नेकपा माओवादी केन्द्र ३
नेकपा एकीकृत समाजवादी २

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १५:०८