सूचनाको शक्ति - The Power Of Information

        

टीकापुरको मेयर जित्यो रेशम चौधरीको पार्टीले

कैलालीको टीकापुर नगरपालिकाको मेयर नागरिक उन्मुक्ति पार्टीले जितेको छ।

जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा केही महिनाअघि दर्ता भएको उक्त पार्टीले स्थानीय तह चुनावमा पहिलो जित हात पारेको हो।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार रामलाल डंगौरा थारूले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराएका हुन्।

थारूले ९६४२ मत पाएका छन् भने रावलले ६६४२ मत पाए। निर्वाचित थारू टीकापुर-७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले जितेका छन्।

शाहले नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराएका हुन्। शाहले  ७९५५ मत पाए भने विश्वकर्माले ७८०२ मत ल्याइन्।

उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ। २०७४ को चुनावमा टीकापुरको मेयर नेकपा एमालेले जितेको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०९:००