देशका ११ उपमहानगरमध्ये धनुषाको जनकपुर, कैलालीको धनगढी र सुनसरीको धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवारले दलका उम्मेदवारलाई चुनौती दिएका छन् । जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी बुधबार मध्यरातिसम्म १ हजार ४०० भन्दा धेरै मतान्तरले अगाडि छन् ।
धनगढी उपमहानगरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर मतले अघि छन् । धरानमा कुल खसेको मतको आधा अर्थात् ३० हजार मतगणना गर्दा बुधबार राति साढे ८ बजेसम्म स्वतन्त्र उम्मेदवार हर्क साङपाङ गठबन्धन र एमालेका उम्मेदवारभन्दा अगाडि छन् ।
स्वतन्त्र उम्मेदवारले हासिल गरेको मतले दलहरूविरुद्धको जनमतलाई मात्रै बुझाइरहेको छैन, दल बाहिरका व्यक्ति पनि चुनावी मैदानमा बलियो रूपमा उभिन सक्छन् भनेर प्रमाणित गरिरहेका छन् । धनगढीमा तीन दिनयता जारी मतगणनामा प्रतिस्पर्धी उम्मेदवारभन्दा दोब्बर मतले अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार हुन्, गोपाल हमाल ।
उनीसँग प्रतिस्पर्धामा छन्, पाँचदलीय सत्ता गठबन्धन दलका उम्मेदवार एवं यसअघि ५ वर्ष नगर प्रमुखको जिम्मेवारी सम्हालेका नृप वड । २०७४ को स्थानीय निर्वाचनमा हमाल वडसँग २ हजार ७०० मतान्तरले पराजित भएका थिए । पाँच वर्षपछि उनी फेरि मैदानमा भिडिरहेका छन्, सत्ता सारथि दलका उनै वडसँग ।
प्रतिस्पर्धी वडभन्दा दोब्बर बढी मतले अघि बढिरहेका हमालको यात्रालाई धेरैले दलका नेताहरूको कार्यशैलीप्रतिको वितृष्णा जनताले मतमार्फत व्यक्त गरेको रूपमा अर्थ्याएका छन् । राजनीतिक विश्लेषक सुरत रावलले सत्ता र शक्तिको दुरुपयोगबाट जनतामा वितृष्णा छ भन्ने कम मतमार्फत प्रकट भइरहेको बताए । उनले भने, ‘पद र सत्ताको दुरुपयोग गर्नुहुँदैन भन्ने तथ्यलाई बुझ्न नसकेको अवस्था हो ।’
स्वतन्त्र उम्मेदवार हमालको अग्रतालाई धेरैले प्रधानमन्त्रीपत्नी आरजु देउवासँग पनि जोडेर हेरेका छन् । आरजुले पार्टीको जिल्ला कमिटीबाट छलफल र सहमतिभन्दा व्यक्तिगत रुचिमा वडलाई टिकट दिएको गुनासो कांग्रेसभित्रै व्यापक छ । पार्टीभित्रको यही अन्तरसंघर्ष चुनावमा प्रकट भएको र त्यसले स्वतन्त्र उम्मेदवारलाई फाइदा पुगिरहेको देखिन्छ ।
खुलेर बोल्न नचाहे पनि कांग्रेसका जिल्लास्तरीय नेताहरू प्रधानमन्त्रीपत्नीले कैलालीको राजनीतिमा गरिरहेको हस्तक्षेपलाई पछिल्लो चुनावी परिणामसँग जोडेर अर्थ्याइरहेका छन् । कांग्रेसका एक नेताले भने, ‘यो निर्वाचनलाई आरजु देउवाको कार्यशैलीविरुद्धको जनमतका रूपमा अर्थ्याउन सकिन्छ ।’ नागरिक अगुवा प्रमोद पाठक भने स्वतन्त्र उम्मेदवारको बलियो उपस्थिति पुराना दलको दम्भविरुद्धको मतका रूपमा बुझ्छन् ।
उनले भने, ‘धनगढीमा परिवर्तन चाहने र यथास्थिति चाहनेबीच लडाइँ भइरहेछ ।’ उनले दलको शक्तिभन्दा पनि व्यक्तिको क्षमतालाई मतदाताले विश्वास गरिरहेको बताए । धनगढीको विगत हेर्ने हो भने यो सहरले सधैं एउटै दलका एउटै अनुहारलाई स्विकारेको छैन । ०४६ पछि धनगढीमा भएको स्थानीय तहको पहिलो निर्वाचनमा कांग्रेस, दोस्रो निर्वाचनमा एमाले र तेस्रो निर्वाचनमा कांग्रेसले जित हासिल गरेको थियो ।
कांग्रेस कैलालीका सचिव नृप सुनार पनि विकासका धेरै अपेक्षाहरू पूरा हुन नसकिएकाले जनतामा परिवर्तनप्रतिको चाहना प्रबल भएको ठान्छन् । पाँच वर्षमा धेरै काम भए तर जुन अपेक्षा निम्न वर्ग, पहाडी जिल्लाबाट बसाइँसराइ गरेर आएका मतदाताको थियो, त्यसअनुरूप हुन नसक्दा पनि अहिलेको परिस्थिति निम्तिएको उनले बताए । ‘दलप्रतिको वितृष्णा भए धनगढीमा मात्र हुने थिएन,’ उनले भने, ‘धेरै ठाउँमा स्वतन्त्र छन्, त्यहाँ धनगढीजस्तो अवस्था छैन ।’
हमालको व्यक्तिगत छवि, सुदूरपश्चिमलाई चिनाउन उनले गरेको योगदान र उद्योग वाणिज्य संघमा हुँदा उनले चलाएको विकास अभियान पनि एउटा कारण भएको सुनारको भनाइ छ । धनगढीकै जस्तो चरित्र जनकपुरको पनि छ । यो सहरसँग पनि बारम्बार सत्तासीन दलका उम्मेदवारभन्दा बागी र स्वतन्त्र उम्मेदवारलाई जिताएको विगत छ । यस्तै विगत जनकपुरमा यसपाला पनि दोहोरिने संकेत देखिँदै छ ।
पाँच दलीय सत्ता गठबन्धनका तर्फबाट मेयर पदमा जनता समाजवादीका उम्मेदवार लालकिशोर साह चुनावी मैदानमा थिए तर उनलाई प्रतिस्पर्धामा निकै पछि पारिरहेका छन्, स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले । कांग्रेस केन्द्रले गरेको निर्णयविरुद्ध स्थानीय कांग्रेसीले गरेको विद्रोहका रूपमा पछिल्लो मत परिणाम प्रकट भइरहेको छ । मंगलबार राति १० बजेसम्मको मत परिणाम हेर्दा गठबन्धनका उम्मेदवार साहभन्दा बागी उम्मेदवार दोब्बर मतले अगाडि छन् ।
सतहमा हेर्दा स्वतन्त्र उम्मेदवार साह एक्लैजस्तो देखिए पनि उनको उम्मेदवारीमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवा र विमलेन्द्र निधिबीचको संघर्ष मुख्य कारण देखिन्छ । गठबन्धनको भागबन्डामा कांग्रेसले मेयर पद छाडेपछि निधिकै भित्री बलमा मनोजकुमार उठेको कांग्रेस नेताहरू बताउँछन् । मनोनयनको केही दिनअघि मात्रै कांग्रेस छाडेर मनोजले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । मनोजले पाइरहेको मतलाई धेरैले कांग्रेसले उनीमाथि गरेको अन्यायको बदलाका रूपमा बुझिरहेका छन् ।
अर्कोथरीले भने केन्द्रले गरेका सबै निर्णय कार्यकर्ताले मान्दैनन् भन्ने रूपमा अर्थ्याइरहेका छन् । स्वतन्त्र उम्मेदवार सुडीको अग्रताले धेरैलाई २०४९ को स्थानीय तह निर्वाचन सम्झाइरहेको छ । त्यतिबेला कांग्रेसबाट मेयरका उम्मेदवार दिगम्बर रायलाई स्वतन्त्र उठेका वृषेशचन्द्र लालले पराजित गरेका थिए । यस्तै अवस्था २०५४ मा पनि देखिएको थियो । त्यतिबेला पनि कांग्रेसका आधिकारिक उम्मेदवार दामोदरप्रसाद उपाध्यायलाई पराजित गरी कांग्रेसकै बागी उम्मेदवार बजरंगप्रसाद साह विजयी भएका थिए ।
कांग्रेसकै एक स्थानीय नेताले भने, ‘जनताले पनि दलविरुद्ध विद्रोह गर्न सक्छन् भन्ने सन्देश जनकपुरले दिएको छ ।’ धरानमा यसअघिका चुनावमा एमाले र कांग्रेसबीचमै कडा प्रतिस्पर्धा हुन्थ्यो । यस पटक सांगठनिक जनाधार नै नभएका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले धरानमा दलीय उम्मेदवारलाई चुनौती दिएका छन् मतगणनामा अग्रस्थान लिएर । मेयर पदका स्वतन्त्र उम्मेदवार साम्पाङले बलियो संगठन भएका एमाले र कांग्रेसलाई एक्लै कडा टक्कर दिइरहेका छन् ।
उनले पाएको मत देखेर एमाले र कांग्रेस झस्किएका छन् । धरानको चुनावी इतिहासमा कांग्रेस जहिल्यै पराजित हुँदै आएको र एमालेले लगातार जितिरहेको छ । ०७६ को उपनिर्वाचनमा भने धरानको मेयर कांग्रेसले जितेको थियो । यस पटक धरान–१८ बुद्धचोकका साम्पाङले तल्लो स्तरसम्म पार्टी संगठन भएका एमाले र कांग्रेसलाई चुनौती दिइरहेका छन् । कुल खसेको मतको आधा अर्थात् ३० हजार मतगणना गर्दा बुधबार राति साढे ८ बजेसम्म उनी अगाडि छन् ।
विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा करिब आधा दशकभन्दा बढी समय बिताएर आएका अधबैंसे साम्पाङ घर र छरछिमेकमा खानेपानी नआएपछि सोधीखोजी गर्दागर्दै सामाजिक अभियन्ताका रूपमा स्थापित हुन सफल भए । त्यसै पनि धरानमा तीन दशकदेखि खानेपानीको समस्या छ । यसैलाई एक सूत्रीय एजेन्डा बनाएर उनले आन्दोलन चलाइरहेका छन् । साम्पाङ यसै एजेन्डालाई मुखर बनाएर चुनावमा होमिएका छन् ।
खानेपानी प्रत्येक व्यक्ति र घरको संवेदनशील विषय भएकाले उनले आफूलाई जिताएमा धरानमा खानेपानी समस्या हुन नदिने बाचा चोकचोकमा पुगेर गरे । खानेपानी समस्यामा पिल्सिएका नगरवासीले उनैलाई आफ्नो सम्झेर भोट दिएकाले अहिले अग्रस्थानमा छन् । पार्टी र संगठन नभएकाले उनले धरानका २० वटा वडामध्ये कतिपयमा मत माग्न जान पनि भ्याएनन् वा गएनन् । उनले नमागेको वडाबाटै पनि अपेक्षा गरेभन्दा बढी मत बटुलिरहेका छन् ।
१ लाख ३२४ मतदाता रहेको धरानमा भएको मतदानमा ६२ हजार ८९७ मत खसेको थियो । साङपाङले भने, ‘पुग्न नसकेका र घुम्न नपाएका वडाहरूबाटै सम्मानजनक मत पाएको छु, भोटै मागेका र पुगेका दर्जन वडाहरूबाट भर्खर मत झर्दै छ । ती वडाहरूबाट लौरोमा कति मत खस्छ, त्यसले मेरो हारजितको नतिजा निकाल्छ ।’ उनले चुनावमा एक सातामात्र प्रचार गरेको, घोषणापत्र र प्रतिबद्धतापत्रसमेत निकाल्न नपाएको बताए । उनले आफ्नोतर्फबाट एक पैसा पनि खर्च गरेका छैनन् । सबै प्रचार खर्च आफूसँगै हिँड्ने शुभचिन्तकहरूले गरिदिएको उनले बताए ।
सत्यपाटी । काठमाडौं ।