सूचनाको शक्ति - The Power Of Information

        

निजामति कर्मचारीको तलब बढ्ने

गत वर्षको बजेटले २ हजार रूपैयाँको दरमा बढाइएको निजामति कर्मचारीहरूको तलब अब पेश हुने बजेटले पनि सोही दरमा बढाउने गरी तयारी भइरहेको मन्त्रालयले जनाएको छ । आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा कर्मचारीको तलब २ हजारले वृद्धि गर्ने तयारी गरिएको हो ।

प्रतिशतको दरमा आधारित भएर तलब बढाउन दबाब आए पनि सबैलाई समान हुने भएकोले २ हजार रूपैयाँको दरमा तलब बढाउन लागिएको स्रोतले जनाएको छ ।

राष्ट्रिय किताब खानाको तथ्यांक अनुसार ०७८ असारसम्म ८८ हजार ६ सय ५७ जना निजामति कर्मचारी सेवारत थिए । यसअनुसार प्रत्येकको मासिक तलब २ हजारले बढाउदा वार्षिक २ अर्ब ३० करोड रूपैयाँसम्म बजेट छुट्याउनुपर्ने हुन्छ।

हालसम्म अर्थमन्त्रालय लगभग बजेटको टुंगोमा पुगेको छ । राष्ट्रिय योजना आयोगले पठाएको १७ खर्ब ४५ अर्बको सीमा नभेट्ने गरी बजेटको आकार तय गरिएको अर्थमन्त्रालयले जनाएको छ ।

बजेटको आकार कम गर्न अर्थमन्त्रीले चालू खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने प्रयास गरेको स्रोतले बतायो । चालू आवमा अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विद्येयकमा केन्द्र सरकारको चालू खर्च ६ खर्ब ७७ र प्रदेश तथा स्थानीय तहको लागि समानिकरण अनुदान सहित चालू खर्चमा ३ खर्ब २५ अर्ब रूपैयाँ छुट्याएका थिए । अर्थले गरेको तयारी अनुसार चालू खर्च २० प्रतिशतले घटाउने हो भने करिब २ खर्ब रूपैयाँ खर्च घटाउँनुपर्ने हुन्छ।

चालु आवमै पनि सरकारले चालू खर्चमा छुट्याएको रकम राम्ररी खर्चिन सकेको छैन । स्थानीय तह र प्रदेशमा जाने सबै वित्तीय हस्तान्तरणसहित कुल १० खर्ब ६५ अर्ब खर्चिनु पर्ने सरकारले हालसम्म ६७.५६ प्रतिशत मात्रै चालू खर्च गर्न सकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०७:५६