सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

५३५ स्थानीय तह मतगणना सकियो, कांग्रेस पहिलो

कांग्रेस २४३, एमाले १५५ र माओवादी केन्द्र १०२ पालिकामा विजयी

७५३ स्थानीय तहमध्ये बिहीबार बिहानसम्म देशभरका ५३५ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अहिलेसम्म २४३ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ भने ७५ स्थानीय तहमा अग्रता कायम गरिरहेको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा सबैभन्दा धेरै स्थानीय तह जितेर पहिलो दल बनेको नेकपा एमाले यो निर्वाचनबाट दोस्रो स्थानमा पुग्ने निश्चित भएको छ ।

एमालेले अहिलेसम्म १५५ स्थानीय तहको प्रमुख जितेको छ । मतगणना चलिरहेका ५२ पालिकामा एमालेका उम्मेदवार अगाडि छन् । माओवादी केन्द्रले अहिलेसम्म १०२ स्थानीय तहको प्रमुख जितेको छ भने २० पालिकामा उसले अग्रता कायम राखेको छ ।

अहिलेसम्म सार्वजनिक मत परिणाम र अग्रतालाई हेर्दा माओवादी केन्द्रले ०७४ को भन्दा आफ्नो अवस्था केही सुधार गर्ने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा)ले अहिलेसम्म १२ स्थानीय तहको प्रमुख जितेर चौथो स्थान कायम गरेको छ ।

उसले २० स्थानीय तहमा अग्रता कायम गरेको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ९ स्थानीय तहको प्रमुख जितेको छ । ११ स्थानीय तहमा उसले अग्रतालाई कायम राखेको छ ।

देशभर पाँच स्थानीय तहको प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । मतगणना चलिरहेको कैलालीको धनगढी उपमहानगरपालिका र महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार अघि छन् । राष्ट्रिय जनमोर्चाले अहिलेसम्म तीन स्थानीय तहको प्रमुख जितेको छ ।

भने राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका र झापाको हल्दीबारी गाउँपालिकाको प्रमुख जितेको छ । नेपाल मजदुर किसान पार्टीले अहिलेसम्म भक्तपुरको एउटा स्थानीय तहमा जित हासिल गरेको छ । त्यसैगरी लोसपा, तमलोपा र सीके राउत नेतृत्वको जनमत पार्टीले अहिलेसम्म एक एक स्थानीय तहको प्रमुख जितेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार ०८:०५