धरान उपमहानगरपालिकाको मतगणना स्थलमा सेना परिचालन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताले नाराबाजी सुरु गरेपछि मत गणनास्थलमा सेना परिचालन गरिएको हो ।
वडा नम्बर २० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएपछि माओवादी कार्यकर्ताले नाराबाजी गरेका थिए ।
उनीहरूले जनताले दिएको मत सदर गर्नुपर्ने माग राखेर आन्दोलन चर्काएपछि मतगणनास्थल पब्लिक माविमा सेना परिचालन गरिएको हो ।
धरान–२० मा २०२१ मत खसेकोमा मतदान अधिकृतको हस्ताक्षर नभएको १८ मत बदर गरिएको थियो । यसो हुँदा कांग्रेसका उम्मेदवारले जित्ने पक्का भएपछि माओवादीले आन्दोलन चर्काएको हो ।
हस्ताक्षर नभएका १८ मतपत्र सदर भएमा माओवादीको ११ मत सदर हुनेछ । ११ मत सदर भए माओवादीले वडाध्यक्षमा बाजी मार्नेछ । त्यसकारण पनि उसले आन्दोनलाई चर्काएको हो ।
हस्ताक्षर नभएको मतपत्र पाइएपछि निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतलाई विभागीय कारबाही गर्ने निर्णय गरेको छ ।
माओवादीका नेता राजेन्द्र किरातीले १८ मत सदर नगरिए धरान २० मा पुनः मतदानको व्यवस्था गर्न माग गरेका छन् ।
जनताले दिएको मत मतदान अधिकृतको चरम लापरबाहीले बदर भएको भन्दै उहाँले आपत्ती प्रकट गर्नुभयो ।
सत्यपाटी । सुनसरी ।