सूचनाको शक्ति - The Power Of Information

        

पानी नपर्दा मकै रोप्न समस्या

आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन् ।

सिँचाइ सुविधा नभएका कारण आकाशे पानीका भरमा मकैखेती गर्दै आएका किसानले वैशाखको अन्तिमसम्म पनि मकै रोप्न नपाएका हुन् ।

पहाडी भूभागका साथै भिरालो जमिन भएका कारण यहाँ नहरको पानीले सिँचाइ गर्न मुस्किल छ । पाइपमा पानी लगेर सिँचाइ गर्न सकिने भए पनि पाइपको अभावमा सिँचाइ गर्न नसकिएको नलगाड–८ का शेरबहादुर खत्रीले बताए ।

वैशाखमा मकै रोप्न नसके उत्पादनमा भारी गिरावट आउने गर्दछ । केही हुने खाने स्थानीय बासिन्दाले सिँचाइ गरेर मकै रोपे पनि ७० प्रतिशत किसानको खेतबारी बाँझिएको खत्रीले बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:१७