सूचनाको शक्ति - The Power Of Information

        

धनगढीमा अग्रता बढाउँदै स्वतन्त्र उम्मेदवार हमाल

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता बढाउँदै लगेका छन् ।

मतगणनाको सुरु भएदेखि नै अग्रता लिएका हमालले ७ हजार ४७० मत गणना हुँदा ३ हजार ३२९ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७ मत प्राप्त गरेका छन् भने एमालेका रणबहादुर चन्दले ७८३ मत पाएका छन् ।

यस्तै उपमेयर पदमा माओवादी केन्द्रका शान्ति अधिकारीले १ हजार ६२३ मत प्राप्त गरेकी छन् । एमालेका कन्दकला रानाले १ हजार ३५३ मत प्राप्त गरेकी छन् ।

मतगणनाको सुरुवातमा तेस्रोमा रहेकी राना स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीलाई उछिनेर दोस्रोमा पुगेकी छन् । स्वतन्त्र उम्मेदवार भण्डारीले १ हजार १८ मत पाएका छन् ।

धनगढी उपमहानगरपालिकाको वडा नं १ को मतगणना सकिएको छ । वडा नं १ मा वार्ड अध्यक्ष सन्तोष मुढभरीसहित सदस्यमा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको छ ।

वडा नं २, वडा नं ३, वडा नं १८ र वडा नं १९ को मतगणना भैरहेको छ । ६३ हजार ७१५ जनाले मतदान गरेका थिए । ९७ जना जना जनप्रतिनिधी चुनिने छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०९:०२