सूचनाको शक्ति - The Power Of Information

        

मतदान र मतगणनामा धाँधली : एमाले

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धनले मतदान र मतगणनाको क्रममा योजनाबद्ध धाँधली गरेकोआरोप लगाएका हुन् ।

महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीका साहारा लिएको छ ।’

महासचिव पोखरेलले सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको समेत उल्लेख गरेका छन् ।

निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा (एमाले)को विपक्षमा परिचालित भएको आरोप एमालेले लगाएको छ ।

एमाले केन्द्रीय कार्यालयले र सम्बन्धित उम्मेदवारहरुले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका निवेदन अनुसार पुनः मतदान र मतगणना गराउन एमालेले आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १७:२९