सूचनाको शक्ति - The Power Of Information

        

गुलरियाका चार वडामा कांग्रेस र एमाले बराबर

बर्दियाको गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन् ।

गुलरियामा १२ वटा वडामध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडाध्यक्ष पदमा बराबर जित निकालेका हुन् ।

गुलरिया नगरपालिका–१ र ४ मा वडाध्यक्षमा कांग्रेसले जितेको छ भने वडा नम्बर २ र ३ मा एमालेले जितेको छ । गुलरिया नगरपालिका–१ मा कांग्रेसबाट वडाध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ ।

थारुले १ हजार ३३९ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले १ हजार ३७३, दलित महिला सदस्यले ३ हजार १२६, खुला सदस्य (१) ले १ हजार २८६ र खुल्ला सदस्य (२) ले १ हजार २६४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ ।

वडा नम्बर १ मा ३ हजार ८८ मत खसेको थियो, जसमा ९८ मत बदर भएको छ । गुलरिया नगरपालिका–२ मा एमालेबाट वडाध्यक्षमा टंकप्रसाद अधिकारीको प्यानल विजयी भएको छ ।

अधिकारीले ८५२ मत प्राप्त गरी विजयी भएका छन् । महिला सदस्यले ७८३, दलित महिला सदस्यले ७८९, खुला सदस्य (१) ले ७८३ र खुला सदस्य (२) ले ७४४ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ ।

वडा नम्बर २ मा २ हजार ५१० मत खसेको थियो, जसमा ५७ मत बदर भएको छ । गुलरिया नगरपालिका–३ मा एमालेबाट वडाध्यक्षमा सर्वजित यादव निर्वाचित भएका छन् । यादवले ७ ९७ मत प्राप्त गरी विजयी भएका हुन् ।

महिला सदस्यले ७७४, दलित महिला सदस्यले ७८५, खुला सदस्य (१) ले ७६५ र खुल्ला सदस्य (२) ले ७१९ मत प्राप्त गरी पुरै प्यानल विजयी भएको छ । वडा नम्बर ३ मा २ हजार ३९४ मत खसेको थियो, जसमा ११५ मत बदर भएको छ ।

गुलरिया नगरपालिका–४ मा नेपाली कांग्रेसबाट वडाध्यक्षमा सुरेश गौतम निर्वाचित भएका छन् । निर्वाचित गौतमले १ हजार ४५३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । कांग्रेसबाट महिला सदस्यले १ हजार २३२ र दलित महिला सदस्यले १ हजार १८६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

एमालेबाट खुल्ला सदस्य (१)ले १ हजार १३७ र खुला सदस्य (२) ले १ हजार १२५ मतप्राप्त गरी निर्वाचित भएका छन् । गुलरियाका चार वटा वडाको मतगणना सम्पन्न हुँदा नगर प्रमुख पदमा कांग्रेसले ३ हजार ४५० र एमाले ३ हजार ७३ मत प्राप्त गरेको छ । एमालेलाई पछि पार्दै कांग्रेसले ३७७ मतले अग्रता लिएको छ । बाँकी वडाको मतगणना जारी छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १५:५२