धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ मा माओवादीका राजन भुजेलको प्यानल नै विजयी भएको छ । भुजेलले नेकपा एमालेका उम्मेदवार कपिलप्रसाद रेग्मीलाई हराउँदै विजयी भएका हुन् ।
आइतबार अपरान्ह १ बजे सकिएको मतगणनामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भुजेलले ७२५ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कपिलप्रसाद रेग्मीले ४८८ मत प्राप्त गरेका छन् ।
गल्छी गाउँपालिकामा सत्ता गठबन्धन र एमालेले प्रतिष्पर्धा गरेका थिए । गल्छीमा एकीकृत समाजवादी पार्टीले गाउँपालिका अध्यक्ष र नेपाली काँग्रेसले उपाध्यक्ष लिने सहमति भएको थियो । उक्त वडाबाट एकीकृत समाजवादीका अध्यक्षलाई ७१० मत प्राप्त भएको छ भने एमालेलाई ४८८ मत प्राप्त भएको छ ।
त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसलाई ७०० मत प्राप्त भएको छ भने एमालेलाई ४६६ मत प्राप्त भएको छ । गल्छी गाउँपालिकाको वडा नम्बर १ मा एमालेका यदुकुमार खतिवडा विजयी भएका छन् । उक्त वडामा एकीकृत समाजवादीका माधवप्रसाद खतिवडाले ९९६ मत ल्याएर खतिवडालाई पछ्याएका थिए ।
त्यस्तै गल्छी गाउँपालिका २ मा पनि एमालेका षडानन्द खनाल विजयी भएका थिए । खनालले १०४७ मत पाउँदा एकीकृत समाजवादीका रमेश मगरले १०३१ मत ल्याएर पछ्याएका थिए ।
गल्छी गाउँपालिकाको अध्यक्षमा हालसम्म नेकपा एमालेका केदारनाथ खतिवडाले २ हजार ४४९ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले १ हजार ६८७ मत ल्याएर पछ्याइरहेका छन् । उपाध्यक्षतर्फ एमालेकी राधा लामिछानेले २११९ मत पाउँदा नेपाली काँग्रेसका भाइकाजी तिवारीले १९८७ मत पाएका छन् ।
सत्यपाटी । धादिङ ।