सूचनाको शक्ति - The Power Of Information

        

जनकपुरधाम रोचक भिडन्त, स्वतन्त्रलाई पछ्याउँदै गठबन्धन

धार्मिक इतिहास बोकेको जनकपुरधाम उपमहानगरको परिचयमा मधेस प्रदेशको राजधानी थपिएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण यो उपमहानगर राजनीतिक हिसावले पनि उत्तिकै महत्व राख्दछ ।

आधार क्षेत्र मधेस भएको जनता समाजवादी पार्टीले त्यही भएर सत्ता गठबन्धनभित्र जनकपुरधाम उपमहानगरको मुखिया (मेयर) पाउनुपर्ने अडान छाडेनन् । सत्ता गठबन्धन दलहरुले जसपालाई जनकपुरधामको मेयर दिन राजी भए, दिए ।

जसपाले जनकपुरधामको मुखियामा नयाँ चेहरा ल्याउनुभन्दा निवर्तमान मेयर लालकिशोर साहलाई नै दोहोर्याए । जसपाका लालकिशोर मेयर र नेपाली कांग्रेसका किशोरी साह उपमेयरका रुपमा सत्ता गठबन्धनका साझा उम्मेदवार बनेर चुनावी मैदानमा उत्रीए । किशोरी साह नयाँ चेहरा थिए भने लालकिशोर परिक्षण भैसकेका चेहरा ।

जनकपुरधामको मेयरका आकांक्षी नेपाली कांग्रेसका जनकपुरधाम नगर अध्यक्ष मनोजकुमार साह सत्ता गठबन्धनको यस निर्णयबाट रन्थनिए । उनी ‘बागी’ बनेर जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराए । मनोजलाई उम्मेदवारी फिर्ता लिन पार्टीले दवाव दियो । तर, उनी मानेनन् ।

जनकपुरधामको तिरहुतिया गाछिमा आयोजित सत्ता गठबन्धनको चुनावी सभाबाट नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बागी उम्मेदवारलाई कारवाही गर्ने चेतावनी समेत दिए । तर, मनोज अडानबाट टसमस भएनन्, उम्मेदवारी फिर्ता लिएनन् । नमानेपछि मनोजलाई बेवास्ता गरेर गठबन्धन चुनावमा अघि बढे ।

अहिले आइरहेको मतगणनाको प्रारम्भिक नतिजाले उनै मनोजको पछिपछि गठबन्धन दौडिरहेको देखाएको छ । आफ्नै पार्टीमा ‘बागी’ बनेका मनोज जनकपुरधामबासीका ‘प्रिय’ बन्न पुगेको मतगणनाको प्रारम्भिक रुझानले देखाएको छ । गठबन्धनका चहिता(प्रिय) लालकिशोर मत गणनाको रुझानले जनकपुरधामबासीका ‘बागी’ चेहरा बन्न पुगेका छन् ।

यद्यपी मतगणनाको अन्तिम नतिजा आइसकेको छैन । अन्तिम नतिजा फरक पनि हुनसक्छ । प्रारम्भिक मत गणनाको परिणामअनुसार जनकपुरधाम उप महानगरपालिकाकाको मेयरका स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडीले १ हजार ३७० मत ल्याउँदा गठबन्धनका साझा उम्मेदवार लालकिशोर साह १९६ मतमा सीमित छन् ।

मनोजले लालकिशोरसँग आफ्नो अग्रतालाई निरन्तर फराकिलो बनाउँदै लगेका छन् । मेयरको रेसमा लालकिशोर पाँचौ नम्बरमा चिप्लिएका छन् । दोस्रो नम्बरमा नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ६४४ मत मात्र ल्याएका छन् । स्वतन्त्र उम्मेदवार बलराम महतोले ४१४ मत ल्याएर तेस्रो स्थानमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले २१५ मत ल्याएर चौथो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार जानकी राम साहले १५३ मत ल्याएर छौठौं स्थानमा छन् । गठबन्धनका साझा उम्मेदवार लालकिशोर मेयरको रेसमा पाँचौ स्थानमा रहँदा उपमेयरका साझा उम्मेदवार नेपाली कांग्रेसका किशोरी साहले १ हजार ४५४ मत ल्याएर अग्रस्थान कायम राखेका छन् । साहलाई नेकपा एमालेकी रुनादेवी झाले ७०७ मतसहित पछ्याउँदै छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १४:०१