काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ ।
वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसैरात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो । शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन ।
हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए । यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ । वडा नं १ मा तीन हजार १०० मत खसेको छ ।
बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले सुनाए । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन । हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ ।
यहाँ दुई वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ । आज दिउँसोको खानापछि अर्को स्थानमा मतगणनाका लागि थप गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ । वडा नं ९ को भने करिब एक हजार ७०० मतगणना भएको छ ।
नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जनाइएको छ । वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा ९एमाले०ले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा नौ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो ।
यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा नेकपा (एमाले) विजयी भएको थियो ।
सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । एमालेबाट विजयी नगर प्रमुख कृष्णहरि थापा हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।
उनी यो निर्वाचनमा पनि समाजवादीबाट नगर प्रमुख पदमा प्रतिस्पर्धा गरिरेका छन् । मतगणनाको प्रारम्भिक परिणाम अनुसार उनी तेस्रो स्थानमा रहेको जनाइएको छ ।
सत्यपाटी । काठमाडौं ।