सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका तीन मतदान केन्द्रमा पुनः मतदान, खनेटामा भोली

विवादका कारण बैशाख ३० गते निर्वाचन सम्पन्न हुन नसकेका कर्णालीका तीन वटा केन्द्रमा मतदान भइरहेको छ । कालिकोटको रास्कोट नगरपालिका र पचालझरना तथा जुम्लाको गुठीचौर गाउँपालिकाको एक मतदान केन्द्रमा अहिले मतदान भइरहेको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाका अनुसार तीन वटै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको छ । ‘३० गते निर्वाचन हुन नसकेका तीन वटै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएर मतदानको व्यवस्था मिलाइएको छ,’ बास्तोलाले भने, ‘अहिलेसम्म्म शान्तिपूर्ण मतदान भइरहेको छ ।’

रास्कोट–४ मा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विवाद हुँदा मतदान रोकिएको थियो । जिल्ला निर्वाचन अधिकृत लालकाजी श्रेष्ठका अनुसार मतदान केन्द्रमा ढुंगामुढा भएपछि निर्वाचन स्थगित गर्नुपरेको थियो । यस्तै पचालझरना–३ जनता मावि खार्पुमा पनि माओवादी र कांग्रेसबीच विवाद भएको थियो ।

यहाँ पनि अहिले शान्तिपूर्ण मतदान भइरहेको छ । जुम्लाको गुठीचौर–३ मा पनि मतदान शान्तिपूर्ण भइरहेको छ । गुठीचौर–३ को शंकर मावि गज्याङकोटमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच विवाद उत्पन्न हुँदा बैशाख ३० गते मतदान हुन सकेको थिएन ।

सुर्खेतमा भोलि

सुर्खेतको सिम्ता गाउँपालिका–१ खनेटा मतदान केन्द्रमा सोमबार मतदान हुने भएको छ । निर्वाचन अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि विवाद हुँदा मतदान प्रक्रिया रोकिएको थियो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हस्ताक्षर नगरिएका मतपत्र पाइएपछि स्थगित गरिएको निर्वाचन प्रक्रिया सोमबारबाट सुरु गरिने बताए । ‘सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन अधिकृतका रुपमा खटाएका छौं,’ प्रजिअ रिजालले भने, ‘सबै प्रक्रिया पूरा भएको छ, सोमबार मतदान सुरु हुन्छ ।’

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १०:३१