सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंको मेयरमा बालेन र उपमेयरमा सुनिताको अग्रता

काठमाडौं महानगरपालिकाको मत गणनाको साँझ ७ बजेको पछिल्लो परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार कूल एक हजार १८० मत गणना गर्दा उनले ४०२ मत प्राप्त गरेका हुन् । सुरुआतदेखि नै अग्रता लिएका साहले मतान्तर बढाउँदै लगेका छन् ।

राष्ट्रिय सभागृहमा जारी मतगणनाको पछिल्लो परिणाममा एमालेका उम्मेदवार केशव स्थापितले ३१९ मत प्राप्त गरेका छन् । उनी साहभन्दा ८३ मतले पछि छन् । गठबन्धनका तर्फबाट प्रमुख पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसकी नेत्री सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।

उनी साहभन्दा २०० मतले पछाडि छन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५३ मत प्राप्त गरेका छन् । अहिले काठमाडौं महानगर–१, २, ३ र ३२ को मतगणना जारी रहेको काठमाडौंका जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

काठमाडौं महानगरमा कूल तीन लाख २४२ मतदातामध्ये एक लाख ९० हजार १७० मत खसेको थियो । यस्तै महानगरको उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डङ्गोलले अग्रता लिएकी छन् ।

सार्वजनिक मत परिणाम अनुसार उनले ५३० मत प्राप्त गरेकी छन् । यस्तै गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले ११० मत ल्याएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार २१:१०