सूचनाको शक्ति - The Power Of Information

        

रोल्पाका ९ स्थानीय तहमा माओवादीको सुरुवाती अग्रता

माओवादी जनयुद्धको उद्गम थलो मानिएको रोल्पाका १० स्थानीय तहमध्ये ९ स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरुले सुरुवाती मतगणनामा अग्रता हासिल गरेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले विजय हासिल गरेको गंगादेव गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा माओवादी केन्द्रले अग्रता हासिल गरेको हो ।

एकीकृत समाजवादीसँग गठबन्धन गरे पनि सो गाउँपालिकामा माओवादीका अध्यक्ष प्रत्यासी वीरबहादुर ओली कांग्रेस र एमालेका उम्मेदवारभन्दा पछाडि छन् ।

यहाँ कांग्रेस अध्यक्षका उम्मेदवार हरिबहादुर पुनले ५८४ मतसहित अग्रता हासिल गर्दा एमालेका रोशनकुमार ओलीले ४६४ र माओवादी केन्द्रका निवर्तमान अध्यक्ष वीरबहादुर खत्रीले ३३० मतमात्र प्राप्त गरेका छन् ।

आफूले जितेको यो गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार तेस्रो स्थानमा पुग्दा यसअघि गुमाएका तीन पालिकामा भने माओवादी केन्द्रका उम्मेदवार अगाडि छन् ।

यसमध्ये नेपाली कांग्रेसले विजय हासिल गरेको लुङ्ग्री गाउँपालिका र एमालेले जितेको त्रिवेणी र रुन्टीघन्टी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारहरुले अग्रता हासिल गरिरहेका छन् ।

यसअघि पनि माओवादी केन्द्रले विजय हासिल गरेको सदरमुकाम रहेको रोल्पा नगरपालिका, थवाङ्ग, माडी, परिवर्तन, सुनछहरी र सुनिल स्मृति गाउँपालिकामा माओवादी केन्द्रकै उम्मेवार अगाडि छन् ।

जिल्लाका अधिकांश गाउँपालिकामा कांग्रेस, एमाले र नेत्रविक्रम चन्द (विप्लव) समर्थित नेकपाका स्वतन्त्र उम्मेदवारहरुले गठबन्धन गरेका छन् । गठबन्धनका बाबजुद पालिकाहरुको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रकै उम्मेदवार अगाडि छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १८:१२