सूचनाको शक्ति - The Power Of Information

        

दाङका स्थानीय तहमा मतगणना जारी

दाङका १० मध्ये केही स्थानीय तहको मतगणना अहिले भैरहेको छ ।

अहिले गाउँपालिकाहरूको मात्रै मतगणना भैरहेको छ । अहिलेसम्मको मत गणनाअनुसार राप्ती गाउँपालिकामा माओवादीले अग्रता कायम राखेको छ ।

यो गाउँपालिकामा सत्तारुढ गठबन्धनका दलहरूका बीचमा तालमेल भएको थिएन । यसैगरी कांग्रेसले दंगी शरण गाउँपालिका, शान्तिनगर गाउँपालिका र बबईमा अग्रता लिइरहेको छ ।

यस्तै राजपुर गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ भने गढवा गाउँपालिकामा एमालेको अग्रता छ । यसैगरी घोराही उपमहानगरपालिकामा मतगणना केहीबेरमै सुरु गर्ने तयारी छ ।

लमही नगरपालिकामा पनि अब केहीबेरमै मतगणना सुरु हुनेछ । यस्तै तुलसीपुर उपमहानगर पालिकामा भने जेठ ३ गतेदेखि मात्रै मतगणना हुनेछ ।

यो उपमहानगरको १७ नम्बर वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि यो वडामा शुक्रबार निर्वाचन हुन सकेन ।

यो वडामा आगामी जेठ ३ मा निर्वाचन हुने र सोही दिनदेखि नै उपमहानगरको मतगणना सुरु गर्ने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०८:५४