सूचनाको शक्ति - The Power Of Information

        

तनहुँ, रसुवा र ताप्लेजुङमा मतगणना सुरु

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको हो ।

बन्दीपुर, म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको छ । अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ ।

व्यास नगरपालिकामा भने मतगणनामा अन्योल भएको छ । व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा (एमाले) र गोविन्दराज जोशी समूहले पुनः मतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ । जिल्लाका दश वटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

देवघाट गाउँपालिकाका १२ हजार ८१५ मध्ये आठ हजार ८६६ मत खसेको निर्वाचन अधिकृत थमनसिंह थापाले जनाए । म्याग्दे गाउँपालिकामा १८ हजार १०५ मतदातामध्ये ११ हजार ९४३ मत खसेको छ । घिरिङ गाउँपालिकामा १४ हजार ६७६ मतदातामध्ये आठ हजार ७१६ मत खसेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले बताए ।

आँबुखैरेनी गाउँपालिकामा १३ हजार ६३१ मतदातामध्ये नौ हजार २७९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए । त्यस्तै बन्दीपुर गाउँपालिकामा १५ हजार ६३८ मतदातामध्ये १० हजार १९५ मत खसेको छ । ऋषिङ गाउँपालिकामा १८ हजार २३८ मध्ये १० हजार ६६२ मत खसेको छ ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ निर्वाचित हुनेछन् ।

रसुवामा पनि मतगणना सुरू

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना सुरू भएको हो ।

गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ । पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।

भौगोलिक विकटताका कारण पैदलमार्गबाट लाङ्टाङको मतपेटिका आज बिहानै धुञ्चे सदरमुकाम प्रस्थान गराई सकिएको जनाइएको छ । अहिलेसम्म करिब एक हजारभन्दा बढी मतगणना भइसकेको छ ।

ताप्लेजुङमा पनि मतगणना सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन् । मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुमा खसेको ८३३ मतमध्ये ७०० मत गणना हुँदा एमाले उम्मेदवार केदारजंग लिम्बूले ३५४ र कांग्रेस उम्मेदवार डम्बर हाङ्गामको ३११ मत रहेको छ ।

उपाध्यक्षमा गठबन्धन पक्षका नेकपा एसका उम्मेदवार दुर्गाहाङ लिम्बूको २७० तथा एमालेको समर्थन पाएका स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाको २४४ मत रहेको छ । त्यहाँ वडामा एमालेले अग्रता लिएको छ । यस्तै आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ बाट सुरु भएको आठराई त्रिवेणी गाउँपालिकाको मतगणनमा गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार विश्वनाथ सिटौलाको ६० र एमाले उम्मेदवार दीपेन पोमूको २५ मत रहेको छ ।

उपाध्यक्षमा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवार प्रजीन हाङ्वाङको ६३ र एमाले उम्मेदवार शान्ता आङ्वोहाङको २५ मत रहेको छ । आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ मा गठबन्धन पक्षका माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०८:३८