सूचनाको शक्ति - The Power Of Information

        

बाबुरामले भने, ‘मतदान गोप्य हुनुपर्ने कुनै पनि सिद्धान्त छैन’

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मतदान गोप्य हुनुपर्ने कुनै पनि सिद्धान्त नभएको जिकिर गरेका छन् । मत संकेत सार्वजनिक गरेको भन्दै चौतर्फी आलोचना भएको छ ।

आलोचनापछि उनले प्रतिवाद गर्दै मतदान गोप्य हुनुपर्ने कुनै पनि सिद्धान्त नभएको जिकिर गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष भट्टराईले मत संकेत सार्वजनिक गर्न चाहनेलाई रोक्न नहुने पनि तर्क गरेका छन् ।

‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन,’ उनले भनेका छन्, ‘गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ।’

यसअघि भट्टराईले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् मतदानको मत संकेत सार्वजनिक गरेका थिए । निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।

त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ । तर, डा.भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् । भट्टराईले गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका–१ मा रहेको अन्नपूर्ण मावि मतदान स्थलमा मतदान गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १३:१७