रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।
जिल्लाका अन्य सबै मतदान केन्द्रमा बिहान ७ बजेबाटै मतदान सुरु भए पनि पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को प्राथमिक विद्यालय पेल्मामा रहेको मतदान केन्द्रमा भने अझै मतदान सुरु हुन नसकेको रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार पेल्मामा २९ गते बिहीबार साँझ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच झडप भएको थियो । झडपपछि नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता घाइते भएको भनेर हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने माग राखेको थियो । तर कांग्रेस कार्यकर्ता सामान्य मात्र घाइते भएकाले हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था नरहेको प्रजिअ खड्काले बताए ।
अहिले भने कांग्रेसले आफ्ना कार्यकर्तालाई हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अडान छोडेको छ । तर कांग्रेसले चुनावमा भाग नलिने अडान लिएको पत्रकार सर्जना कार्कीले जानकारी दिइन् । अहिले त्यहाँ रहेको सुुरक्षालगायतको समूहले दुवै पक्षलाई सहमतिमा ल्याएर मतदान सुरु गर्ने तयारी गरिरहेको प्रजिअ खड्काको भनाइ छ ।
‘मतदान सुरु गर्ने गरी छलफल तथा सहजीकरणको काम भइरहेको छ,’ प्रजिअ खड्काले भने । फोनले पनि काम नगर्ने त्यस ठाउँको सूचना संकलन गर्न कठिन छ । त्यहाँ स्याटेलाइट फोनको भर पर्नुपर्ने बाध्यता छ । पेल्मामा सडक र सञ्चारको सुविधा छैन । त्यहाँ पैदल हिंडेर जान सदरमुकामबाट दुई दिन लाग्छ ।
सत्यपाटी । रुकुमपूर्व ।