पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मतदानको मत संकेत सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्वीर राख्दै आफूले मत दिएको चुनाव चिन्ह सार्वजनिक गरेका हुन् ।
सार्वजनिक तस्वीरमा भट्टराईले जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनाव चिन्ह ‘छाता’मा मत दिएको देखिएको छ । जसमध्ये उनले नगर उपप्रमुखबाहेकका जसपाका उम्मेदवारलाई मत दिएका छन् ।
निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।
त्यस्तो मतपत्र मतपेटिकामा खसाली नसकेको भए छुट्टै खाममा सिलबन्दी गरी त्यसलाई गणना नगरिने उपदफा ३ मा उल्लेख छ । तर, डा.भट्टराईले मत पेटिकामा मतपत्र खसालिसकेपछि तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
भट्टराईले गृहजिल्ला गोरखाको पालुङटार नगरपालिका–१ मा रहेको अन्नपूर्ण मावि मतदान स्थलमा मतदान गरेका थिए । जनता समाजवादी पार्टी (जसपा) नेपालको संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले बिहान ८ बजेर २५ मिनेट जाँदा मतदान गरेका हुन् ।
सत्यपाटी । काठमाडौं ।