सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचनमा तनाव

हुम्ला, दोलखा र बारामा झडप, मतदान स्थगित

हुम्लामा मतदान अधिकृतसहित २ जना घाइते, दोलखामा बुथ कब्जाको प्रयास, बारामा एक जनाको टाउको फुट्यो ।

हुम्लाको चंखेली गाउँपालिका–२ स्थित महादेव मतदान केन्द्रमा झडप भएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएको हो ।

झडपमा परी मतदान केन्द्रका मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेका छन् । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेका छन् ।

बुथ कब्जाको प्रयासपछि दुई पक्षबीच झडप

दोलखाको बैतेश्वर गाउँपालिकाको वडा नम्बर १ र २ मा मतदान स्थगित भएको छ । मतदान केन्द्रमा दुई पक्षले बुथ कब्जा गर्न खोजेपछि मतदान स्थगित गर्नुपरेको हो ।

दोलखा बैतेश्वर गाउँपालिका १ र २ का मतदानस्थलमा कांग्रेस र एमाले दुवै पक्षले बुथ कब्जा गर्न खोजेको बताइएको छ । वडा नम्बर ३ मा भने कांग्रेस र माओवादी केन्द्रबीच झडप भएको हो । उक्त वडानमा चारजना वडाअध्यक्षका उमेदवार छन् ।

कांग्रेस र माओवादी केन्द्रले आ आफ्नै उमेदवार अघि सारेका छन् । कांग्रेसबाट कलम अधिकारी, एमालेबाट अकलबहादुर तामाङ, माओवादीबाट इराजकुमार राउत र स्वतन्त्रबाट कुलबहादुर थापाले उमेदवारी दिएका छन् ।

वैतेश्वरमा रातिदेखि नै झडपको अवस्था सिर्जना भएको हो । प्रहरीले वडा नम्बर २ मा हवाई फायरसमेत गरेको जनाएको छ । वैतेश्वर वडा नम्बर २ को उक्त बुथमा यसअघिको निर्वाचनमा पनि कब्जा भएको स्थानीय बताउँछन् ।

पत्रकार लालकुमार मोक्तानका अनुसार करिब चार सय मत खसिकेपछि वडा नम्बर एकमा विवाद भएको थियो । त्यसपछि अहिले मतदानप्रक्रिया स्थगित छ । सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए । उनका अनुसार वडा नम्बर ३ मा माओवादी र कांग्रेसबीच झडपको अवस्था सिर्जना भएको छ ।

बाराको देवतालमा मतदानका क्रममा झडप

बाराको देवताल गाउँपालिका–७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा १ जनाको टाउको फुटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । झडपपछि मतदान रोकिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०९:३८