सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन आज

पहिलो पटक मतदान गर्ने ३६ लाख ५९ हजार २९९ जना

पाँच वर्ष पश्चात् आज स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर रहेका ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चैत १३ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार देशभर कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् ।

१८३ अन्य मतदाता छन् । आयोगको तथ्यांक अनुसार गएको स्थानीय तह निर्वाचन भन्दा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् । यी मतदाताले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

यसपटक निर्वाचन आयोगले हिजो अर्थात् वैशाख २९ गते १८ वर्ष पुगेर मतादाता नामावलीमा नाम भएकाहरूलाई मतदान प्रकृयामा समावेश गरेको हो । आयोगको तथ्यांक अनुसार २०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४२४ मतदाता रहेका थिए ।

यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २२३ जना मतदाता छन् । सबैभन्दा कम मनाङमा ६ हजार ४९६ मतदाता छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०७:१३