सूचनाको शक्ति - The Power Of Information

        

नौ जना उम्मेदवारको मृत्यु

स्थानीय तहको निर्वाचनअन्तर्गत विभिन्न पदमा उम्मेदवारी दिएका नौ जना उम्मेदवारको मृत्यु भएको छ । निर्वाचन अयोगका अनुसार नगरपालिका उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुको मृत्यु भएको छ ।

आयोगका अनुसार सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ६ मा दलित सदस्यतर्फकी उम्मेदवार मडुवा देवी चमार, रौतहटको वृन्दावन नगरपालिका–५ को महिला सदस्यतर्फकी उम्मेदवार मिना देवी, मोरङको केरावारी गाउँपालीका वडा नम्बर २ मा वडा सदस्यतर्फका उम्मेदवार नविन लिम्बुको मृत्यु भएको छ ।

त्यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–८ को वडाध्यक्षका उम्मेदवार ओम प्रकाश तिवारी, सोही जिल्लाको कपिलवस्तु नगरपालिका–१० को वडासदस्यका उम्मेदवार राजेन्द्र थारुको मृत्यु र कपिलवस्तुकै महाराजगंज नगरपालिकाको उपप्रमुखकी उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिका–३ दलित सदस्यतर्फकी उम्मेदवार कुसुमी पासिन, सिराहाको सिराहा नगरपालिका–५ को वडा सदस्यतर्फकी उम्मेदवार मुना लेखा र दाङको तुलसीपुर नगरपालिका–१७ का वडाध्यक्ष पदका उम्मेदवार लभरू चौधरीको मृत्यु भएको आयोगले जनाएको छ । उम्मेदवारको मृत्यु भएपछि सम्बन्धित क्षेत्रमा निर्वाचन आयोगले पुनःनिर्वाचन कार्यक्रम सञ्चालन भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १७:१०