सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि ६ दिनसम्म विद्यालय बन्द

आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएका छन् ।

सरकारले मतदानको दिन ३० गतेमात्रै विदा दिने निर्णय भए पनि धेरैजसो सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।

यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुनेछ ।

त्यसकारण आजबाट ६ दिनसम्म विद्यालयहरु बन्द हुने भएको हो । आजबाट ६ दिनसम्म विद्यालयमा पढाइ नहुने शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले बताइन् । हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

सरकारी कार्यालयहरुमा भने निर्वाचनको दिनमा मात्र विदा दिइएको छ । कर्मचारीहरु निर्वाचनमा खटिएकाले सरकारी कार्यालयहरु सीमित कर्मचारीहरुको भरमा सन्चालन भइरहेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १०:५०