अहिले मुलुक नै चुनावमय भएको छ । गाउँठाउँ सबैतिरको वातावरण चुनावले तताएको छ । तर, मुलुकमा यस्ता धेरै नागरिक छन्, जसलाई चुनावले केही फरक परेको छैन । उनीहरु चुनावकै बेला भए पनि पेट पाल्नको लागि खाडी पस्दै छ । श्रम विभागका अनुसार दैनिक ५३ हजारभन्दा बढीले विदेश जानको निम्ति श्रम स्वीकृति लिएका छन् । देशमा निर्वाचन हुदैछ तर नेपालीलाई आफ्नै पेट पाल्नको चिन्ता छ । एक करोडभन्दा बढी नेपालीहरु बाहिरी मुलुकमा छन् । तिनीहरुले भोट हाल्न पाउँदैनन् ।
उनीहरुको भोट हाल्न पाउने अधिकार खोसिएको छ । नेपालीहरु बाहिर गएर दुःखजेलो गरेको पैसाले हाम्रो देशका नेताहरुले मोजमस्ती गरेका छन् । उनीहरुले रेमिटेन्स नतिर्ने हो भने सरकारी कर्मचारीले तलबभत्ता पनि पाउँदैनन्, नेताहरुले गरेको मोजमस्तीको पनि अन्त्य हुन्छ । बाहिर गएर रगतपसिना नबगाउने हो भने नेपालको अर्थतन्त्र डामाडोल हुन्छ । तर, विदेशमा गएकाले के पाएका छन् ? युवाहरु नागरिकता बनाउने बित्तिकै रोजगारी खोज्दै बाहिर जान बाध्यता भएका छन् ।
हाम्रो देशका राजनीतिक दलले सिकेको कुरा, आफ्नो देशका जनतालाई भेडाबाख्राजस्तै अरुको देशलाई बेच्ने, अनि उनीहरुले तिरेको राजश्व झ्वाम्म पार्ने । ठेक्कापट्टा लाउने कमिशन खाने । गरिबी, बेरोजगारी र जातभातको नाममा राजनीतिक दलहरुले मत लिए, सत्तामा पुगे । तर, त्यो जनतालाई फर्केर हेर्ने काम भएन् । गरिबी, बेरोजगारी र जातभात हुनु नेताहरुका लागि फाइदाको कुरा बन्यो । आज पनि गरिबी जस्ताको त्यस्तै छ । बेरोजगारी ज्युँका त्युँ छ ।
जातभातको नाममा कुटिनुपर्ने र मर्नुपर्ने स्थितिको अन्त्य भएको छैन । अनि कहाँ आयो परिवर्तन ? जनताले त परिवर्तन देख्न पाएका छैनन् । बरु, नेताहरुको सम्पत्तिमा परिवर्तन भयो । भ्रष्ट्राचार गरेर उनीहरु झन्झन् धनी बन्दै गए । हिजो एकजोर चप्पल किनेर ल्याउने हैसियत नभएकाहरु आज करोडौंको सम्पत्तिको मालिक हुन् । कहिले नेपाली कांग्रेस, कहिले एमाले र माओवादीलाई मत दिएर ठूलो पार्टी बनाए । तर, कुनै पार्टीले एउटा सिन्कोसमेत भाँचेनन् ।
शीर्ष नेता भनिएका पुष्पकमल दाहाल, केपी ओली, माधव नेपाल, बाबुराम भट्टराई, शेरबहादुर देउवाबाट जनताहरु आजित भइसकेका छन् । आफु पनि काम गर्दैनन्, अन्यका लागि पनि बाटो खुल्ला गर्दैनन् । पार्टीकै अध्यक्ष यी चोर नेताहरु भएपछि देशको रुप फेरिएला ? गरिबी र बेरोजगारी यिनीहरुले हटाउलान् भनेर नसोच्दा पनि हुन्छ । नेपालमै बसेर केही गर्छु । यही स्वरोजगार बन्छु भनेर नसोच्दा पनि हुन्छ । व्यापार व्यवसाय गर्छुभन्दा पनि नसक्ने स्थिति बनेको छ ।
गाउँदेखि सहरसम्म एउटै ट्रन्ड चलेको छ, नागरिकता बनाउनेबित्तिकै विदेश जाने । नेपालमा जागिर पाइदैन् भन्ने छाप सबैमा परिसकेको छ । रोजगारीको अभावमा पढेलेखेका समेत बाहिर गइरहेका छन् । हुनेखाने राम्रो मुलुक पसिहाल्छन्, हुँदाखाने खाडी । अमेरिका, अस्टे्रलियालगायत अन्य युरोपेली मुलुक छिरेकाहरु नेपाल फकिँदैनन् । पछिल्लो समय वैदेशिक रोजगारीले विकृति ल्याएको पाइन्छ । श्रीमान् काम गर्न भनेर खाडी मुलुक जाने श्रीमती परपुरुषसंग लागिदिने ।
खाडी मुलुकमा गएर कमाएको पैसा सबै श्रीमतीले लिएर अर्कैसंग भागेको घटनाहरु थुप्रै छन् । तापनि, नेपाल सरकारलाई केही फरक परेको छैन् । नेपालीहरुको घरपरिवार तहसनहस हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको छ । नेपालको अर्थतन्त्र र नेपाली दुवै वैदेशिक रोजगारमा आश्रित छन् । अरु मुलुकले नेपालीलाई मजदुरी गर्न नलग्ने हो भने नेपालीहरु भोकभोकै मर्छन् । यता, विदेश पठाउने कन्सल्टेन्सी र म्यानपावरको ठगीधन्दा पनि मौलाउँदै गएको छ ।
सरकारले खाडी मुलुक जानलाई फ्रि टिकट फ्रि भिसा भने पनि जनताले उपयोग गर्न पाएका छैनन् । अहिले खाडी मुलुक जानकै लागि दुई–तीन लाख रुपैंयाँ खर्च गर्नुपर्छ । म्यानपावरले पैसा लिन्छ तर पैसा बुझेको बिल दिदैन् । खाडी जाने व्यक्तिसँग १० हजारभन्दा बढी लिन नपाउने भने पनि फितलो नियम कानुनका कारण सरकारकै नियमलाई धोती लगाउने काम भएको छ । आर्थिक कमजोर, नपढेका, सीधासाधी मानिसहरु खाडी मुलुक जान्छन् ।
महँगो व्याजमा ऋण लिएर उनीहरुले म्यान पावरमा बुझाउँछन् । तर, म्यानपावरले उनीहरुलाई आजभोलि भन्दै अड्काएर राखिदिन्छ । एक महिनामा भिसा लाग्छ भनेपनि कतिपयको ६ महिनासम्म पनि भिसा लाग्दैन् । भिसा लागेर उडिहाले पनि उता गएर एकदमै कष्टकर काममा पर्छन् । म्यान पावर कम्पनीहरुले सिधासाधीहरुलाई ठग्ने, झुल्याउने र दुःख दिने काम गरिरहेका छन् । तर, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ र श्रम विभागका महानिर्देशकहरुले मौन बसेका छन् ।
त्यस्ता कम्पनीलाई कारबाही गर्नुको साटो उनीहरुबाटै लुप्त भएर मोटाएर बसिरहेका छन् । काम नै नगर्ने तर कमिशन खाने चाहिँ तम्सिनेमा हाम्रो देशको तीन जना मन्त्री पर्छन् । श्रममन्त्री श्रेष्ठ, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र भुमि सुधारमन्त्री शशी श्रेष्ठ कामचोर मन्त्री हुन् । काम नै नगर्ने र जतिबेला पनि पत्रकार सम्मेलन गर्ने । भ्रष्टाचार गरेर पार्टीलाई पोसेको कारण पार्टीले यिनीहरुलाई नहटाएको स्पष्ट बुझिन्छ । यी तिनै जना नेपालकै हालसम्मको असक्षममन्त्रीमा गनिन्छन् ।
यता, कन्सल्टेन्सीहरुमा पनि ठगीधन्दा मौलाउँदो छ । कन्सल्टेन्सी सञ्चालकहरुले बाहिर पठाउने नाममा पैसा लिएको र नपठाएको अहिले सर्वत्र चर्चाको विषय बनेको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले नेपाली विद्यार्थीको भ्रम चिर्न नसक्दा शिक्षाका लागि विदेश जाने विद्यार्थीको ओइरो लागेको छ । उनको कमीकमजोरीको कारण नेपालको शैक्षिक गुणस्तरमाथि नै प्रश्न उठेको छ । शिक्षामन्त्री पौडेलले कमिशन खाएर धमाधम लेटरप्याडमा छाप हिर्काउदा नेपाली विद्यार्थीहरु सबै बाहिर गएका छन् ।
पढ्ने नाममा नेपाललाई टाट पल्टाउने काम भइरहेको छ । विद्यार्थी त जान्छ पछि आफ्नो बाबुआमा र भएको सम्पत्ति पनि लान्छ । पढ्नको लागि विदेश जाने काममा रोक लगाऔं । नेपालमा पनि राम्राराम्रा, गुणस्तरीय कलेज छन् । सरकारी कलेजहरु प्नि थुप्रै छन् । तर, निजी कलेजले पढाउने नाममा लुट्ने, सरकारी शिक्षक शिक्षिकाहरु नपढाउने, राजनीतिक पार्टीको झोला बोकेर हिड्ने । शिक्षाको नाममा व्यापारीकरण हुँदा राम्रो शिक्षा हासिल गर्न भनेर विदेश जानेको संख्या बढ्यो ।
पछिल्लो समय नेपालमा कुन देश गएको हो ? त्यसको आर्थिकस्तर छुट्याउने गरिएको छ । विकसित मुलुक र खाडी मुलुक गएकालाई हेर्ने दृष्टि नै भिन्न भएको छ । छोराछोरी विकसित मुलुकमा छन् भन्यो भने जोपनि लहसिने गर्छ । तर, खाडी मुलुकमा छोराछोरी भएकालाई हेर्ने नजरिया नै भिन्न छ । पढाइ नभएर, क्षमता नभएर खाडी मुलुक गएर सोच्छ हाम्रो समाज । खाडी मुलुकमा पुगेर उसले देशको लागि कति योगदान गरेको छ कसैले हेर्दैन् । युवापुस्ता र सक्षम जनशक्ति बाहिर जाँदा मुलुकको स्तर खस्किदै गयो ।
नेताहरु पनि उही नपढेका, सरकारी कर्मचारीहरु पनि उस्तै । दक्ष जनशक्तिहरु नेपालमै बसेको भए आज मुलुकको रुप फेरिन्थ्यो होला । राजनीतिक परिवर्तन हुन्थ्यो होला । पढेको र नपढेकोले राजनीतिक गर्नुमा धेरै अन्तर हुँदोरहेछ भन्ने उदाहरण नेपालले नै अरु मुलुकलाई दिएको छ । नेपालका दक्ष जनशक्तिहरुले हार खाँदा आज देश कंगाल भयो । उनीहरुको सिप र क्षमता यही प्रयोग गरेको भए नेपाल समृद्ध हुने थियो । राजनीतिक दलहरु जिम्मेवार नहुँदा गाउँको जमिन बाँझै छ । विदेशमा गएर उही नेपाली खेत खनिरहेका छन् ।
तर यहाँको जमिन बाझो छ भन्नुपर्ने लाज लाग्ने कुरा हो । हरेक सामान बाहिर मुलुकबाट आयात गरिरहेका छन् । व्यापार घाटा बढ्दो छ । अनि जो जहाँ गए पनि नेपाललाई के फाइदा भो ? देश महंगी र व्यापार घाटाको दलदलमा फस्दै गएको छ । विदेश गएर कमाएको पैसासमेत सही ठाउँमा लगानी गर्न नसक्दा नेपाल सखापै हुने भयो । हरेक व्यक्तिको एउटै सोचाई, विदेशमा गएर कमाउने, यहाँ आएर घर बनाउने र सोखसँग बस्ने । उद्योग खोल्नतिर कसैको ध्यान नै जाँदैन । उद्योग खोलिदिने हो भने रोजगारीको अवसर सिर्जना हुन्छ । राज्यले पनि राजश्व पाउँछ ।
तर, नेता मात्र होइन् हामी नेपाली पनि जिम्मेवार बनेनौं । उद्योगहरु नखुल्दा बेरोजगारी बढ्दो छ । राज्यले पनि उद्योग खोल्नेलाई कर छुट दिने भनेर नीति बनाएन् । घर बनाउन कडाइ गर्ने काम पनि राज्यद्धारा भएन् । विदेश जानेको संख्या दैनिक बढिरहेको छ । नेपाली जनतालाई अरु देशमा बेचेर राज्य कतिञ्जेल सञ्चालन गर्ने ? नेपालीलाई सधैं आफ्नो घरपरिवारबाट छुट्याइरहने ? सरकार चलाउनलाई नेपालीले कहिलेसम्म विदेश जाने ? यसको निराकरण खोज सरकार ।
अनुसा थापा ।