सूचनाको शक्ति - The Power Of Information

        

आज र भोलि नयाँ मतदातालाई परिचयपत्र बाँडिदै

स्थानीय तह निर्वाचन ०७९ मा सहभागिताका लागि नयाँ मतदातालाई आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको छ ।

वैशाख ३० गते बिहान ७ देखि बेलुका ५ बजेसम्म हुने मतदानमा उमेर पुगेका बालिगलाई मतदानको अधिकार सुनिश्चित गर्न आज र भोलि मतदाता परिचयपत्र बाँडिने भएको हो ।

यही वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका र मतदाता नामावलीमा नाम समावेश भएकाहरूले मतदानमा भाग लिन पाउनेछन् । मतदान गर्न मतदाताले अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था छ ।

अघिल्लो निर्वाचनमा वितरण भएको मतदाता परिचयपत्रबाटै मतदान गर्न पाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । ‘पहिले बाँडिसकेको मतदाता परिचपत्र हुनेले सोही परिचयपत्रबाट मतदान गर्ने हो,’ उनले भने ।

हराए वा नष्ट भएकाको हकमा के हुन्छ ?

निर्वाचन आयोगले गत फागुन ५–२० गतेसम्म परिचयपत्र नष्ट भएको वा हराएको भए वडा कार्यालयको सिफारिसमा प्रदेश वा जिल्ला निर्वाचन कार्यलयमा निवेदन दिन मतदातालाई आग्रह गरेको थियो ।

आयोगले दिएको समयमा निवेदन दिएका त्यस्ता मतदाताले मतदाता परिचयपत्रको प्रतिलिपि पाउने प्रवक्ता शर्माले जानकारी दिए । ‘परिचयपत्र हराएकाका हकमा प्रतिलिपि लिनका लागि निवेदन दिने म्याद दिइएको थियो । निवेदन दिनुभएको छ भने प्रतिलिपि आउनेछ । सोही प्रतिलिपि वितरण हुनेछ,’ उनले भने ।

यस पटक ३६ लाख ६१ हजार २९९ नयाँ मतदाता थपिएका छन् । मतदाताले मतदान केन्द्रबाटै परिचयपत्र लिन सक्नेछन् । मतदाता नामावलीमा नाम भएकाहरूले आफैँले प्रिन्ट गरे त्यसलाई पनि मान्यता दिने आयोगको तयारी छ ।

निर्वाचन आयोगका अनुसार एकै चरणमा हुन लागेको निर्वाचनमा देशभर एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । ८७ लाख ४१ हजार ५३० महिला, ८९ लाख ९२ हजार १० पुरुष र १८३ जना अरू मतदाता छन् ।

मतदानका लागि देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ वटा मतदान केन्द्र तोकिएको छ । निर्वाचनबाट ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० वटा गाउँपालिका र ६ हजार ७४३ वडामा गरी ३५ हजार २२१ जनप्रतिनिधि चुनिनेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०९:१९