सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

मध्यरातदेखि निर्वाचन प्रचारप्रसारमा प्रतिबन्ध

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

स्थानीय तह निर्वाचन २०७९ को क्रममा मङ्गलबार राती १२ बजेपछि राजनीतिक दल र उम्मेदवारले गर्ने निर्वाचनको प्रचारप्रसार समाप्त भएको छ । मतदानको समयभन्दा ४८ घन्टा अगाडि अर्थात् गएरातिदेखि प्रचारप्रसारमा प्रतिबन्ध लगाएको हो ।

निर्वाचन आयोगले गर्ने मतदाता शिक्षाका कार्यक्रम भने जारी रहने छन् । निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि आवश्यक भएको निर्वाचन आयोगले जनाएको छ ।

यस अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न हुँदैन । यसैगरी, राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्नेछ ।

साथै कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश प्रवाह गर्न पाइदैन । यस्तै, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न, गराउन नहुने हुँदा यसबमोजिम आचरण पालन गरिदिन सम्बन्धित सबैमा आयोगले आग्रह गरेको छ ।

उच्चस्तरीय टोली खटियो

आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचार संहिता विपरीत भएका कार्यहरु हटाउने आदेश दिने गरिएको जानकारी आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले बताए । आयोगले स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्यहरु भइरहेका छन् भने प्राप्त जवाफको अध्ययन र छानबिनको कार्य भइरहेको जनाएको छ ।

निर्वाचन आचार संहिताको पूर्ण कार्यान्वयनका लागि आयोगले उल्लङ्घनका घट्नामा तत्काल कारबाही गर्न सक्ने अधिकारसमेत दिई १९ वटा उच्चस्तरीय टोली तुलनात्मक रुपमा संवेदनशील ठानिएका विभिन्न स्थानहरुमा परिचालन गरेको छ ।

यस्ता अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्ने गरी निर्वाचनका कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकता अनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कन गर्न सक्ने र मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भए÷गरेको पाइएमा तत्काल आवश्यक कारवाही गरी आयोगलाई जानकारी गराउने अधिकार दिइएको छ ।

यसैगरी, टोलीले मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने हुँदा सो अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिहरुको सम्बन्धमा निगरानी राख्ने छ ।

त्यस्तो गतिविधि हुन नदिने तथा मतदानको दिन मतदातालाई सुरक्षित रुपमा मतदान केन्द्रसम्म पुग्न र मतदान केन्द्रबाट फर्किन सक्ने वातावरण निर्माण गर्नुपर्ने भएकाले मतदातालाई कुनै पनि प्रकारको अवरोध हुन नदिन आवश्यक व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा सबै स्थानीय प्रशासनहरुलाई आयोगले निर्देशनसमेत दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घनको अनुगमनका लागि विभिन्न तहमा संरचना बनाइएका छन् ।

आयोगका अनुगमन हेर्ने आयुक्तको संयोजकत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्लामा मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय तहमा निर्वाचन अधिकृतको संयोजकत्वमा स्थानीय तहको आचारसंहिता अनुगमन समितिको प्रबन्ध गरिएको छ । यी संरचनाका अतिरिक्त विशेष संवेदनशील मानिएका जिल्ला र पालिकामा विशेष अनुगमनका लागि अधिकार प्रत्यायोजन सहित विशेष अनुगमन टोली खटाइएको छ ।

सो टोलीले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, चिन्ह र गाडी प्रयोग गरेमा, अनधिकृतरुपमा सामानको ओसारपसार वा नगद वा जिन्सी वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न सक्ने अधिकार दिइएको छ । निर्वाचनमा सुरक्षाको प्रत्याभूति हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ, जस अन्तर्गत नेपाली सेनासहित तीन घेराको सुरक्षा प्रबन्ध गरिएको छ ।

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

स्थानीय तह निर्वाचनका सन्दर्भमा मङ्गलबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ । मौन अवधिमा राजनीतिक क्रियाकलाप सम्पूर्ण बन्देज गरिएको छ । यसका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ । सो आचारसंहितामा मौन अवधिमा गर्न पाइने र नपाइने विषयका बारेमा स्पष्ट गरिएको छ ।

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नुपर्नेछ –

(क) मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने,

(ख) मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने,

(ग) कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नहुने,

(घ) सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने ।

मतदानको दिन पालना गर्नुपर्ने आचरण

मतदानको दिन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नुपर्नेछ –

(क) मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याज लगाउन नहुने ।

(ख) मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने ।

(ग) कुनै किसिमको सवारीसाधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने तर सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताका लागि निर्वाचन अधिकृतले अनुमति दिएको खण्डमा सवारीसाधन प्रयोग गर्न बाधा पर्ने छैन ।

(घ) मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने ।

मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण

मतदाताले देहायका आचरण पालन गर्नुपर्नेछ –

(क) मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने ।

(ख) मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने ।

(ग) मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने ।

(घ) मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने ।

(ङ) मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने ।

(च) कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने ।

मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण

राजनीतिक दल तथा उम्मेदवारको मतदान तथा मतगणना प्रतिनिधिले देहायका आचरण पालना गर्नुपर्नेछ –

(क) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने ।

(ख) राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोसाक, लोगो, ब्याचजस्ता सामग्री लगाउन, बोक्न र देखाउन नहुने ।

(ग) मतपत्र लगायतका निर्वाचन सामग्री छुन वा चलाउन वा बिगार्न वा फोटो खिच्न नहुने ।

(घ) मतदानस्थल वा मतगणना स्थलमा दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नाराबाजी वा हुल हुज्जत गर्न नहुने ।

(ङ) क्यामरा, मोबाइल लगायतका निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतगणना स्थलमा लैजान नहुने ।

 

(स्रोत – निर्वाचन आयोग)

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ०८:४०