सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

मतदान गर्न भारतबाट धमाधम स्वदेश फर्कंदै नेपाली

चुनावको मिति नजिकिदै जाँदा उमेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् भने मतदाता पनि मतदान गर्न आ–आफ्नो पालिका फर्कदै छन् ।

फाइल तस्वीर

‘रोजगारीको बाध्यताले यहाँ बस्नुपरेको हो, मनजति नेपालमै छ, अहिले त झन् चुनावको वेला कतिखेर नेपाल पुगौंला जस्तो भएको छ,’ दिल्लीबाट सोमबार बिहान नेपाल जान लागेका लक्ष्मण अधिकारीले भने, ‘पाँच वर्षमा भोट हाल्ने मौका पाइएको छ जसरी पनि जानु पर्यो नि !’

अध्ययन, रोजगारी तथा व्यापार व्यवसायको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका नेपालीहरू स्थानीय निर्वाचनमा मतदान गर्नकै लागि धमाधम नेपाल फर्कन थालेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन भारतको नयाँदिल्लीबाट मात्र दैनिक ५०० को हाराहारीमा नेपालीहरू स्वदेश फर्किन थालेका छन् ।

लक्ष्मण जस्तै थुप्रै नेपालीहरूले आफूलाई मन परेको उमेदवार छान्न एक दुई साताको बिदा मिलाइ नेपाल जान लागेको बताए । उनीहरू स्थानीय तहको नेतृत्व चयनका खातिर आफ्नो मताधिकार प्रयोग गरेर आफ्नो पालिकाको नेतृत्व चयन गर्नुपर्छ भन्दै स्थानीय तहको निर्वाचनमा भाग लिन परिवारसहित स्वदेश फर्कनेको लर्को लागेको छ ।

‘हामी त स–परिवार आफ्नो मताधिकार प्रयोग गर्न १५ दिनको बिदा मिलाएर जान लागेका हौं, दिल्लीबाट बुटवल जाने क्रममा लक्ष्मणले भने, ‘निर्वाचनमा आफ्नै छिमेकी उठेका छन्, उनलाई जिताउने कर्तव्य हाम्रै हो मतदान गर्न त जानु पर्यो नि ! पछिल्लो एक साता अरु वेलाभन्दा बढी नेपाली स्वदेश फर्किरहेको यहाँका यातायात व्यवसायी बताउँछन् ।

दिल्लीबाट भोट दिनकै लागि स्वदेश फर्कनेहरू मतदान गरे लगत्तै पुनः दिल्ली फर्केर आफ्नो कर्ममा लाग्ने बताउँछन् । नेपाल भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएका यातायात व्यवसायीहरू चुनावको मिति नजिकिएसँगै दैनिक ४/५ सयका दरले नेपालीहरू भोट दिन नेपाल जाने गरेको बताउँछन् ।

सन् २०१० देखि दिल्ली–बुटवल बस सेवा सञ्चालन गर्दै आएकी चाचाचाची टुर एण्ड ट्राभलकी सञ्चालक उषा लम्सालले एक साता यता हरेक दिन बिहान ४ वटा र बेलुका ३ बटा बस नेपाल जाने गरेको बताइन् । उनले नेपालमा चुनावको माहोल बढेसँगै यहाँबाट भोट दिन भन्दै स–परिवार नेपाल जाने गरेको बताइन् ।

तस्वीर – उषा लम्साल र लक्ष्मण अधिकारी

उनले भनिन्, ‘बिहान र बेलुका गरी दिल्लीको सरोजनी नगरबाट बुटवलको लागि दैनिक ७ वटा बसमा लगभग ५०० यात्रु जान्छन् , यतिवेला त यात्रुहरू बसमा कोचाकोच गरेरै भए पनि जाने गरेका छन् ।’ पहिले भने दैनिक बढीमा एक सय ५० यात्रुहरू नेपाल जाने गरेको उनको भनाइ छ ।

विभिन्न पेशा व्यवसाय गरेर दिल्लीमा बस्दै आएका नेपालीहरू भोट हाल्न स–परिवार नेपाल जान थालेपछि दिल्ली यातायात व्यवसायीलाई नेपालीका लागि आरामदायी र सुरक्षित सिट मिलाइदिन भ्याइनभ्याइ भएको छ । कतिपय त बसको सिट नपाएर उभिएर जाने गरेको व्यवसायीहरू बताउँछन् ।

आइतबार ४५ सिटका ७ वटा बस भरिएपछि बुटवल जाने ४ जना नेपाली बसमा उभिएरै गएको यातायात व्यावसायी सरोज लम्सालले बताए । मतदान गर्न भारतका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरू सडक मार्ग हुँदै नेपालका सुनौली, कृष्णनगर, रुपेडिया, लुम्बिनी लगायतका नाकामार्फत नेपाल छिर्ने गर्छन् ।

यसरी नेपाल छिर्ने यात्रुहरू सीमा नाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराइ स्वदेश छिरेको बताउँछन् । शनिबार दिल्लीबाट लुम्बिनी नाका हुँदै काठमाडौं गएका विनोद शर्माले सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा चेकजाँच गराइ नेपाल प्रवेश गरेको बताए । चुनावको मिति नजिकिदै जाँदा उमेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् भने मतदाता पनि मतदान गर्न आ–आफ्नो पालिका फर्कदै छन् ।

सरकारले भारत तथा चीनसँगको नाका खुला गरेपछि यात्रुहरूलाई नेपाल प्रवेश गर्न सहज भएको छ । चीन र भारतसँग जोडिएका नेपालका ४२ जिल्लाका सीमा नाका खुल्ला भएकाले सडक मार्गबाट यात्रा गर्नेलाई त सुविधा भएको छ तर सीमामा आवागमनको व्यवस्थापन गर्न भने चुनौती हुने गरेको सीमाका प्रशासन कार्यालयहरूले जनाएका छन् ।

मंगलबारदेखि नाका बन्द

यसैबीच सरकारले आज मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई मंगलबार मध्यरातिदेखि सीमा नाका बन्द गर्न भनिसकिएको जनाएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागिएको जनाइएको छ ।

सीमा नाका बन्द हुनुअघि नै नेपाल छिरिसक्नुपर्ने भएकोले भिड बढेको हो । कोरोना संक्रमणका कारण लकडाउनसँगै बन्द गरिएका चीन र भारततर्फका ३० वटा नाकालाई सरकारले गत माघदेखि खुला गरेको थियो  । कोरोनाको समयमा यसअघि १४ नाका खोलिएकामा माघ ११ को मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय गरेको थियो ।

भारततर्फका धेरै नाका खुलाउनुको कारणले पनि भारतमा रहेका धेरै नेपालीहरू सजिलै ओहोरदोहोर गर्न पाएका छन् । नेपालको प्रदेश ६ बाहेक सबै ठाउँ भारतसँग जोडिएको छ । करिब १ हजार ८८० किमि लामो खुला सिमाना भएको नेपाल–भारतको सीमा नाकामध्ये अहिले तराई र मधेसका १० नाकाबाट नेपाली नागरिकहरू आवतजावत गर्ने गरेका छन् । त्यस्तै भारतीयसहित विदेशी नागरिकहरू भने स्थानीय प्रशासनको अनुमतिमा प्रवेश गर्ने गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार १८:२७