सूचनाको शक्ति - The Power Of Information

        

एकदिवसीय सिरिज

जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपाललाई

जिम्बावे ‘ए’ ६ विकेटले पराजित

 टेस्ट मान्यताप्राप्त राष्ट्र जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज नेपालले २–१ जितेको छ ।

सोमबार भएको सिरिजअन्तर्गको तेस्रो खेलमा जिम्बावे ‘ए’लाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज घरमै राखेको हो ।

२ सय १४ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि कुशल भुर्तेलले ८४ रन बनाउँदा आशिफ शेखले २९ रन बनाए ।

सुनिल धमला ६ रनमा आउट हुँदा रोहित पौडेल पहिलो बलमै एलबिडब्ल्यू भए । दिपेन्द्र सिंह ऐरी र विनोद भण्डारीले अविजित रहँदै क्रमशः ६० र २८ रन बनाए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पानी जमेकाले समयमै खेल शुरु नहुँदा खेललाई ३३ ओभरमा झारिएको थियो ।

टस हारेर पहिला ब्याटिङमा तानिएको जिम्बावे ‘ए’ले निर्धारित ३३ ओभरमा २ सय १३ रन बनाएको थियो । उसका लागि जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको योगदान गरे ।

यस्तै, कुड्जाई मौन्जेले ३९ रन जोड्दा रोय कियाले ३६ रन बनाए । कप्तान टोनी मुन्योगाले २४ रन, सेफासले १६ रन, इनोसेन्ट कियाले १२ रन र लुक जोग्वीले १९ रन बनाए ।

नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

यसअघि भएको तीन खेलको टी–ट्वान्टी क्रिकेटको सिरिज पनि १–१ मा टुंगिएको थियो । एउटा खेल भने वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार १८:००