बझाङको दुर्गाथली गाउँपालिकामा नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि प्रचारप्रसार गर्ने क्रममा निर्वाचन आचार संहिता विपरित प्रचारप्रसारमा बालबालिकाहरुको प्रयोग गरेको छ ।
घरदैलो कार्यक्रममा प्रचारप्रसार गर्न निस्केको ¥यालीमा बालबालिकाहरुले हातमा झण्डा बोकेर नारा लगाउदै आएका थिए ।
प्रचारप्रसार गर्नेक्रममा दुर्गाथली गाउँपालिकाका अध्यक्षका उम्मेदवार नेकपा एमालेको तर्फबाट दल बहादुर धामी लगायतका उम्मेदवारले बालबालिकाहरुलाई ¥यालीको अगाडी राखेर नारा जुलुस सहित झण्डा र टोपीहरु प्रयोग गरेका थिए ।
बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा २ मा कुनै पनि राजनीतिक दलहरूले राजनीतिक प्रयोजनका लागि बालबालिकालाई संगठित गर्ने वा हड्ताल, बन्द, चक्काजाम, धर्ना र जुलुस जस्ता कार्यमा प्रयोग गर्न नहुने भनी उल्लेख गरिएको छ ।
त्यस्तै ऐनमा उल्लेख गरिए विपरीत कुनै पनि राजनीतिक दल, संगठन वा व्यक्तिले त्यस्ता कार्यमा बालबालिकाको प्रयोग गरे त्यसलाई कसुरको रूपमा मानी दफा ७२ मा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था समेत गरेको छ ।
विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा तथा कार्यान्वयन निर्देशिका २०६८ मा पनि बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न गर्न नहुने भनी उल्लेख गरिएको छ ।
त्यसै गरी निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद २ अन्तर्गत दफा ४ को उपदफा ६ मा १८ वर्ष उमेर नपुगेका बालबालिकालाई दलका निर्वाचन गतिविधि, प्रचारप्रसार तथा निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधिमा प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।
यता राजननीतिक दलहरुले कानूनले बन्देज गरेको बालबालिका सम्बन्धी ऐनको उल्लंघन गर्दै निर्वाचनसँग सम्बन्धित गतिविधिमा बालबालिकाको प्रयोगलाई निरन्तरता दिइरहेकै छन् ।
मानव अधिकार रक्षक संजाल बझाङका संयोजक भिम रसाइलीले राजनीतिक दलहरुले विभिन्न समयमा बालबालिकाको प्रयोग नगर्ने सम्बन्धमा गरेका प्रतिवद्धताहरुको उल्लंघन गर्नु दुखद पक्ष भएकोले यस्ता कार्य नदोहो¥याउन सम्बद्ध दलहरुलाई आग्रह गर्दे यस्ता गंभिर विषयमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने बताउनुभयो ।
स्थानीय निर्वाचनको सुरक्षार्थ बझाङमा २ हजार बढी सुरक्षाकर्मी खटिने
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि बझाङमा २ हजार १५० सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।
जिल्ला सुरक्षा समितिले जिल्लाका १२ वटै स्थानीय तहमा रहेका निर्वाचन केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेर आवश्यक सुरक्षा प्रबन्ध मिलाएको हो ।
प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि रणनीतिक सुरक्षा योजनासहित जिल्लाको निर्वाचन सुरक्षा मजबुद बनाउने तयारी गरिएको बताउनुभयो ।
स्थानीय तहको निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि जिल्लाभर १ हजार १०१ जना म्यादी प्रहरी, ७०० जना नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा ३५० जना नेपाली सेना चुनावी सुरक्षाका लागी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।
उहाँलेभन्नुभयो, ‘जिल्लामा रहेका कुल १३३ मतदानस्थलमध्ये ४४ मतदानस्थललाई ‘अतिसंवेदनशील’ को सूचीमा राखेको छ । यस्तै, ५९ मतदानस्थललाई संवेदनशील र ३० मतदान केन्द्रलाई सामान्यको सूचीमा समावेश गरेका छौ त्यहीअनुसार सुरक्षाको प्रवन्ध मिलाइएको छ । चुनाव धाँधलीरहित वातावरणमा नै सम्पन्न गर्ने हाम्रो योजना छ ।’
मतदान स्थलमा भित्री घेरामा म्यादी र नेपाल प्रहरी खटिने छन् भने त्योभन्दा बाहिर घेरामा सशस्त्र प्रहरी र सबैभन्दा बाहिरी घेरामा नेपाली सेनाको सुरक्षा पहरा रहने अर्यालले जानकारी दिनुभयो ।
त्यस्तै, जिल्लामा स्थानीय निर्वाचनका लागि जिल्लामा १८३ मतदान केन्द्र कायम गरिएको छ । १ लाख २२ हजार १३७ जनाले स्थानीय तहको निर्वाचनमा भाग लिने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएका छ ।
जिल्लाभरका लागि मतपत्रहरू मिलाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अवस्थीले बताउनुभयो । जिल्लामा १ लाख ३७ हजार मतपत्र आएको उहाँले बताउनुभयो ।
सत्यराज सिंह । बझाङ ।