सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् ।

सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् । युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व शान्तिको कामना गर्दै आरोहणका लागि क्याम्प २ पुगेका छन् ।

दुवै क्याम्प १ बाट क्याम्प २ मा पुगेर संयुक्त अभ्याससमेत गरिरहेका छन् । पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४४ पुरुष गरी कुल ३१७ जनाले आरोहण अनुमति लिएका छन् ।

यसपटक सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ६८ लाख ५१ हजार ४०० रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्तयामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए ।

हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहडाबाट ४०० आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए । तीमध्ये ११ जना शेर्पा आरोहीको टोलीले सगरमाथाको चुचुरोमा पाइला राखेसंगै वसन्तयामको सगरमाथा आरोहण सुरु भएको छ । कीर्तिमानी आरोहीका कामिरिता शेर्पा नेतृत्वको ११ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगेसँगै सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको हो ।

कामिरिताले २६औँ पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान समेत तोडेका छन् । शनिबार अपराह्न ६ः५५ बजे सगरमाथाको चुचुरोमा पुगेको उक्त टोलीले सहज र सुरक्षित आरोहणका लागि खुम्बु क्षेत्रमा चारवटा भर्याङ र क्याम्प २ तर्फ सात किलोमिटर डोरी टाँगेर आरोहणको ढोका खुला गरेका छन् । यस पटक आरोहणका लागि प्रयोग हुने डोरी बेलायतबाट ल्याइएको हो ।

 

 

गोरखापत्र

प्रकाशित मिति : २६ बैशाख २०७९, सोमबार ०७:३९