सूचनाको शक्ति - The Power Of Information

        

मतपत्रमा सिसाकलमले हस्ताक्षर गर्न नपाइने

आउँदो ३० गते हुने पालिका चुनावका लागि मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर गर्दा सिसाकलमको प्रयोग गर्न नपाउने भएका छन् ।

मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर गर्दा सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै पनि मसी भएको कलम वा डटपेन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। सिसाकलमले हस्ताक्षर गर्दा छिट्टै मेटिन सक्ने खतरा रहेकाले सिसाकलमको प्रयोग  नगर्न भनिएको हो ।

आयोगले सिसाकलमबाहेक कालो, रातो, नीलो वा हरियोमध्ये कुनै मसी भएको कलम–डटपेनले हस्ताक्षर गर्ने व्यवस्था मिलाउन सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन पनि दिएको छ ।

यसैबीच, सरकारले चुनावमा हरेक मतदान केन्द्रमा एक स्वास्थ्यकर्मी खटाउने भएको छ ।

मतदानस्थलमा हुने भिडभाडका कारण कोभिड सङ्क्रमण बढ्ने जोखिम रहेकाले स्वास्थ्य मापदण्ड पालना गराउन स्वास्थ्यकर्मी परिचालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मतदातामा सामान्य स्वास्थ्य समस्या देखिए घटनास्थलमै सेवा दिने र गम्भीर अवस्था आए नजिकैको अस्पतालमा रेफर गरिने उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतवार ०७:५४