सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा काेलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेमा गएराति भएको खेलमा काेलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको काेलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । काेलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडे ।

लखनउका आभेश खान र जासन होल्डरले ३/३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय पारी खेले । दीपक होडाले ४१ रन जोडे । काेलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउको ११ खेलमा १६ अङ्क भएको छ ।

समान खेलमा १६ अङ्क रहेको गुजरात दोस्रो स्थानमा छ । लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली हुन् । काेलकाता ११ खेलमा ८ अङ्कका साथ आठौँ स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले पञ्जाब किङ्ग्सलाई ६ विकेटले हरायो । राजस्थान ११ खेलमा १४ अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतवार ०७:१७