सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा अज्ञात समूहद्वारा दुई वटा गाडीमा आगजनी

सुर्खेतमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकिराखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन् ।

प्रहरीका अनुसार जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो ।

स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचार प्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचार प्रसारमा प्रयोग गर्दै आएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले २ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको जानकारी दिएको छ । नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो ।

कर्णाली प्रदेश प्रहरीका अनुसार आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको छ । घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय सुर्खेतले गरिरहेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ०९:३७