सूचनाको शक्ति - The Power Of Information

        

विश्व खबर

आर्थिक संकट बढेसँगै श्रीलंकामा पुनः आपतकाल घोषणा

श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षले शुक्रबार पुनः आपतकाल घोषणा गरेका छन् । आर्थिक संकट झन् गहिरिएसँगै पाँच सातामा श्रीलंकाले दोस्रोपटक आपतकाल घोषणा गरेको हो ।

यससँगै अब सरकारले मानिसहरुको प्रदर्शन नियन्त्रणका लागि सेना पनि परिचालन गर्न पाउनेछ । शुक्रबारदेखि श्रीलंकाका ट्रेड युनियनहरुले राष्ट्रव्यापी आन्दोलन सुरु गरेसँगै राष्ट्रपतिले आपतकाल घोषणा गरेका हुन् ।

राष्ट्रपतिका प्रवक्ताले सामाजिक सन्तुलन कायम गर्न आपतकालको घोषणा गरिएको बताएका छन् । शुक्रबार बिहानै पनि श्रीलंकाको संसदअघि प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

उनीहरुले राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् । आर्थिक संकटको कारण लामो समयदेखि श्रीलंकाका मानिसहरुले खाद्यान्न, इन्धन र औषधिजन्य सामग्रीको अभावको सामना गर्दै आएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको नीतिको कारण श्रीलंका अहिले समस्यामा परेको आरोप लगाउँदै आएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार ०९:२६