सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन २०७९

सिम्तामा भत्किँदै एमालेको किल्ला, प्रभाव बढाउँदै काँग्रेस

सुर्खेतमा एमालेको पकड क्षेत्रको रुपमा परिचित सिम्तामा काँग्रेसले आफ्नो प्रभाव बढाउन थालेको छ । सिम्तालाई एमालेले आफ्नो भोट बैकंको रुपमा प्रयोग गर्दै आएको थियो । तर अहिले त्यो परिस्थित रहन सकेन ।

यसअघि सिम्ताबाट नेकपा एमालेले संसदीय निर्वाचनमा ४५ सयदेखि पाँच हजारसम्म बढि मतको अग्रता लिने गरेको थियो । एमाले नेता ऋषिप्रसाद शर्माले सुर्खेत क्षेत्र नं.१ बाट संसदीय निर्वाचनमा भाग लिँदै गर्दा सिम्तालाई एमालेको किल्लाको रुपमा हेर्ने गरिन्थ्यो ।

शर्माको जन्मस्थल रहेको सिम्तामा उनको प्रभाव निकै बलियो थियो । यतिसम्म कि सिम्ताको घोरेटा र आग्रीगाँउ मतदानस्थलमा कांग्रेसले आफ्नो निर्वाचनमा एजेन्ट राख्न समेत नस्कने परिस्थित हुन्थ्यो । दुई पटक संसदीय निर्वाचनमा सिम्ताबाट भारी मत ल्याए पनि शर्मा बिजयी हुन सफल भएनन् ।

कारण थियो, नेपाली कांग्रेका प्रभावशाली नेता पुर्णबहादुर खड्काको पडक क्षेत्र मानिने भेरीबेल्ड । जहाँबाट नेपाली कांग्रेसले अत्याधिक मत प्राप्त गरी विजयी हासिल गर्थ्यो । २०६४ सालको निर्वाचनमा ऋृषिप्रसाद शर्माको मृत्युपछि उनकी श्रीमती कमला शर्मा निर्वाचनमा भाग लिँदा सिम्ताबाट ६ हजार मतले अग्रता लिएका थिए ।

त्यही समयमा उनले नेपाली कांग्रेसका उम्मेद्वार लालबहादुर घलेलाई पराजित गर्न सफल भएका थिए । २०६४ सालको निर्वाचनमा नेपाली कांग्रेसका लालबहादुर घले एमालेका कमलासँग ६ हजार ४६९ मतान्तरले पराजित भए । शर्माले १८ हजार ८०४ मत ल्याई बिजयी हुदाँ १२ हजार ३३३ मत पाए ।

पहिले एमालेको लागि आधार क्षेत्र मानिने सिम्ता अहिले आएर कांग्रेसको लागि अनुकुल बनेको छ । २०७० को निर्वाचनमा भने कांग्रेसले साख फर्काउन सफल भयो भने एमालेले यसअघिको विजयलाई कायम गर्न सकेन । त्यतिवेला नेपाली कांग्रेका नेता पुर्णबहादुर खड्काले १८ सय मत अन्तरले जित हात पारे ।

त्यो समयमा एमालेको पकड क्षेत्रको रुपमा रहेको सिम्ताबाटै मत कम आयो । त्यसको चार बर्षमा कांग्रेसले सिम्तमा आफ्नो संगठन विस्तार गर्दै प्रभाव पनि बढायो । देश संघिय संरचनामा गएपछि तत्कालिन सुर्खेत क्षेत्र नं.२ मा रहेको साविकको काफलकोट गाविस पनि सिम्तामा गाभियो । अनि कांग्रेसको संगठन थप मजबुद बन्न पुग्यो ।

२०७४ सालको निर्वाचनमा कांग्रेसले ९ वडा रहेको सिम्तामा ३ वडामा जित हात पार्यो । तर पालिको अध्यक्षमा भने ७५१ मतले एमालेका कविन्द्र केसीले जित हात पारे । सिम्ता गाउँपालिकामा अध्यक्ष नेपाली कांग्रेसले ४ हजार ६०४, एमालेले ५ हजार ३५५ र माओवादी केन्द्रले ६६४ मत ल्याएका थिए ।

एमालेलाई साख जोगाउन कठिन

यही ३० गते हुने निर्वाचनमा एमालेलाई साख जोगाउन कठिन भएको छ । अहिले एमाले विभाजनको असर सिम्तामा पनि परेको छ । कांग्रेस भने एकढिक्का देखिएको छ । एमालेको पकड क्षेत्र मानिएको घोरेटमा कांग्रेसले समाजवादीलाई वडाध्यक्षमा सघाएको छ । जसको कारण त्यहाँको मत विभाजन हुने देखिन्छ ।

२०७४ सालको स्थानीय निर्वाचनलाई आधार मान्ने हो भने कांग्रेसको ४ हजार ६०४ र माओवादीको ६६४ जोड्दा ८७ मतको अन्तर हुन्छ । एमालेबाट समाजवादीमा २०० भन्दा धेरै गएको देखिन्छ । ‘समाजवादीको मत पनि कांग्रेसमा थपिने भएकाले यसपाली सिम्तामा कांग्रेसको जित सुनिश्चित छ,’ कांग्रेस प्रदेश समिति सदस्य गंगाराम सापकोटाले भने ।

अहिले सिम्तामा कांग्रेसले आफ्नो आधार इलाकाको रुपमा काप्रीचौरलाई लिएको छ । जहाँ ६०० मतले कांग्रेस अगाडी रहेकाले निर्वाचन जितिने आँकलन गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसार गर्न सबै दललाई भ्याईनभाई छ । कांग्रेस सिम्ताले अहिले टोलटोलमा घरदैलो अभियान नै सञ्चालन गरेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १८:५२