सूचनाको शक्ति - The Power Of Information

        

चीनमा काेराेना सङ्क्रमण बढेपछि एसियाली खेलकुद स्थगित

चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स (एसियाली खेलकुद) स्थगित भएको छ ।

चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएकाे छन ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले एसियन गेम्स स्थगित भएको जानकारी दिएका रोयटर्सले जनाएको छ ।

एसियाली खेलकुदको १९ औँ संस्करण झेजियाङ प्रान्तको राजधानीमा सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो ।

ओसीएको कार्यकारी समितिको बैठकपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो । सन् २०२३ मा व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डर भएका कारण आयोजकले नयाँ मितिको घोषणा गरेको छैन ।

नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । यस प्रतियोगिताका लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार १५:०४